काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ। सी फर्किने क्रममा पनि आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द रहने प्रवक्ता तिवारीले बताए।
यस क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन्। कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिकासमेत सार्वजनिक गर्दै नयाँ उडानको समयसमेत निर्धारण गरेको छ। उडान अवतरणको व्यवस्थापनको लागि शनिबार र आइतबार दुवै दिन विमानस्थल २४सै घण्टा सञ्चालनमा आउने प्रवक्ता तिवारीको भनाइ छ।
विमानस्थलमा विमानका लागि पार्किङ क्षेत्रको सिमितताका कारण पनि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको उनले बताए।
'संशोधित उडान तालिका र चेक इनसम्बन्धी जानकारी हामीले सम्बन्धित एयरलाइन्स कम्पनीलाई गराइसकेका छौं। यसबारेमा थप कुरा आफूले उडान भर्ने एयरलाइन्सबाट पनि जानकारी लिन सकिनेछ,' उनले भने, 'संशोधित अन्तर्राष्ट्रिय उडान तालिका कार्यालयको वेबसाइट www.tiairport.com.np मा समेत हेर्न सकिनेछ।'
विमानस्थल कार्यालयले जारी गरेको नोटामः
यस्तो छ नयाँ उडान तालिकाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।