धनगढी- धनगढी विमानस्थलमा २०७३ सालअघि धनगढी-काठमाडौं-धनगढी रुटमा दैनिक दुईवटा एयरलाइन्सले हवाई उडान गर्थे। विमानस्थलबाट साताको ३ दिन नेपाल एयरलाइन्स र बुद्ध एयरले दैनिक उडान भरिरहेका थिए।
२०७४ साल साउन २७ गतेदेखि श्री एयरलाइन्सले पनि यस रुटमा हवाई उडान सुरु गर्यो भने भदौ १६ गतेदेखि सौर्य एयरलाइन्स पनि यही सूचीमा मिसियो। सौर्यले ५० सिट क्षमताको विमानबाट हवाइ सेवा दिन सुरु गरेको थियो।
यससँगै धनगढीबाट काठमाडौंका लागि निजी कम्पनीका ३ विमानले नियमित रुपमा उडान भर्न थालेपछि हवाई यात्रा गनेहर्रूको संख्यामा वृद्धि भएको धनगढी विमानस्थलले जनाएको छ। यसले विमानस्थलको आम्दानी बढाएको छ। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाले भने, 'जति उडान बढ्छ, त्यत्ति नै विमानस्थलको आम्दानी पनि बढ्छ।'
धनगढी विमानस्थलको आर्थिक वर्ष २०७३/०७४ सम्म आम्दानीभन्दा बढी खर्च हुने गरेकोे तथ्यांक रहेको छ। धनगढी विमानस्थलमा आर्थिक वर्ष २०७४/०७५ देखि हप्ताको ३ दिन पाँच र ४ दिन चार वटा उडान हुँदै आएको छ।
विमानस्थलले सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्ध लगायतका कम्तीमा पनि दुई दर्जन सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत संकलन गर्ने गरेको छ। उनले दुई वर्षयता धनगढी विमानस्थलको आम्दानीमा सुधार भइरहेको बताए।
धनगढी विमानस्थलको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ करोड २१ लाख ११ हजार रुपैयाँ आम्दानी गरेकोमा २ करोड २५ लाख ५ हजार रुपैयाँ खर्च भएको थियो।
आर्थिक वर्ष २०७४/०७५ मा धनगढीमा उडान सेवा थपिएसँगै विमानस्थलको आम्दानी २ करोड २९ लाख ८५ हजार रुपैयाँ पुगेको थियो। यस आवमा खर्च १ करोड ८५ लाख ५ हजार रुपैयाँ मात्रै भएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा धनगढी विमानस्थलले २ करोड ७६ लाख ९० हजार ५ सय रुपैयाँ आम्दानी गर्दा खर्चको आँकडा २ करोड १५ लाख ४८ हजार ३ सय रुपैयाँ पुगेको थियो। यस आवमा आम्दानी र खर्च दुवैको आँकडामा वृद्धि भए पनि नाफा (६१ लाख रुपैयाँभन्दा बढी) भने स्पष्ट रुपमा बढेको देखिन्छ।
धनगढी विमानस्थलले प्रतियात्रु सेवा शुल्क २ सय रुपैयाँ, तोकेको समयभन्दा पछि प्रदान गरिएको सेवावापत प्रतिविमान ३ हजार रुपैयाँ शुल्क लिँदै आएको छ। त्यस्तै, विमान अवतरण, पार्किङ लगायत अन्य सेवाबाट पनि विमानस्थलले शुल्क असुल्ने गर्दछ।
‘विमानस्थलबाट दैनिक ६ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेका छन्,’ धनगढी विमानस्थलका प्रमुख बुडथापाले भने, 'दुई वर्षअघि दुईवटा विमानले मात्र उडान भर्ने हुँदा यात्रुहरूले काठमाडौं जानका लागि सडक यात्रा अथवा नेपालगन्ज विमानस्थलबाट हवाई यात्रा गर्नुपर्ने अवस्था रहेको थियो। अहिले त्यस्तो अवस्था छैन।'
उनले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने २१ कठ्ठा जमीन अधिग्रहण गरेर विमानस्थलको नाममा नामसारी गरिसकेको बताए। ‘अब धनगढी विमानस्थलको नाममा ७० विघा जमीन आएको छ,’ उनले भने।
विमानस्थल प्रमुख बुढथापाका अनुसार कूल १ हजार ८ सय मिटर रन-वे स्तरोन्नति गर्नुपर्नेमा ४ सय ८० मिटर अझै बाँकी रहेको छ। उनले विमानस्थलको रन-वे स्तरोन्नतिका लागि १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको बताए।
सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा रहेका छन्। तर, यस प्रदेशको नाफामा रहेको विमानस्थल धनगढी विमानस्थल मात्रै हो। बुडथापाले भने, 'प्रदेशका अन्य जिल्लामा पनि उडान भर्न सके यस प्रदेशका स्थानीयहरूलाई अझ सहज हुने थियो।'
सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा एक/एक विमानस्थल र कैलालीमा धनगढी र टीकापुर तथा अछाममा साँफेबगर र कमलबजार विमानस्थल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।