काठमाडौं- भारित औसत विधिबाट पुँजीगत लाभकर गणना गर्ने सफ्टवेयर प्रणाली आजबाट पूर्णरुपमा लागु हुन लागेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।
लगानीकर्ताले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्र लागतको भारित औसत गणना गर्न र उक्त धितोपत्र बिक्री गरेमा सोको राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि सिसिएस एन्ड क्लियरिङ लिमिटेडले नयाँ सफ्टवेयर विकास गरेको हो।
सोमबार बेलुकाबाट पूर्णरुपमा कार्यान्वयनमा आउन लागेको उक्त सफ्टवेयरमा धितोपत्र बिक्रीको राफसाफ तथा फर्छ्यौटका लागि इडिआइएस प्रविष्ट गर्दा सो धितोपत्रको लागतको भारित औसतको विवरणसमेत सम्बन्धित राफसाफ सदस्यलाई प्रदान गर्न सकिने व्यवस्था थप गरिएको छ।
सोमबार साँझदेखि उक्त सेवालाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लागिएका कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म मेरो सेयर तथा सी-आस्वा सफ्टवेयरमा डाटा माइग्रेसनसम्बन्धी कार्य गरिने पनि सिडिएसले जनाएको छ।
डाटा माईग्रेसनका कारण सो समयमा धितोपत्र आवेदन तथा इ-डिआइएस प्रविष्टि सम्बन्धी कार्य गर्न नसकिने पनि सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।