काठमाडौं- साना तथा मझौला उद्यमीले व्यवसाय सुरु गर्दा अधिकांश वित्तीय साधन बैंकिङ क्षेत्रभन्दा बाहेकको स्रोतबाट जुटाएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन प्रतिवेदन’ले यस्तो उद्यम सुरु गर्दा निकै कम व्यक्तिले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेको देखिएको हो।
राष्ट्र बैंकको अध्ययनमा समावेश भएका साना र मझौला उद्यमीले औसतमा ३३ प्रतिशत पैतृक सम्पत्तिको स्रोतबाट, २६ प्रतिशत आफ्नै बचतबाट, १६ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट र बाँकी अन्य स्रोतहरुबाट स्थापनाकालीन वित्तीय साधन परिचालन गरेको देखिएको छ।
राष्ट्र बैंकको सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषण गर्दा स्थापनाकालीन अवस्थामा निकै कम व्यक्ति तथा व्यवसायिक फर्महरुले ऋण लिने गरे पनि साना तथा मझौला उद्योगको स्थापना र सञ्चालनपछि भने बैंक वित्तीय संस्थाबाट ऋण लिने गरेको देखिएको छ।
हाल सञ्चालनमा रहेका साना र मझौला उद्यममध्ये करिब ५० प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र तीमध्ये पनि ८५ प्रतिशतले वाणिज्य बैंकबाट नै वित्तीय साधन प्राप्त गर्ने गरेको तथ्य फेला परेको छ।
वित्तीय क्षेत्र विकास रणनीति, २०७४-२०७७/०७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान गरेको छ भने झन्डै १७ लाख रोजगारी सिर्जना गरेको छ। आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्म २ लाख ७५ हजार ४ सय ३३ साना तथा मझौला उद्योगहरु दर्ता भएका छन्।
साना तथा मझौला उद्यमका मुख्य स्रोतहरुमा स्व-पुँजी, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी, भेन्चर क्यापिटल/प्राइभेट इक्विटी र पुँजी बजार रहेको पाइन्छ। साना तथा मझौला उद्योगमा लगानीसम्बन्धी नीति निर्माणमा नेपाल सरकार, उद्योग विभाग, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा सुरक्षण कोषजस्ता निकायहरुको महत्वपूर्ण भूमिका रहन्छ।
नेपालमा साना तथा मझौला उद्योग प्रवर्द्धन गर्न विभिन्न कोष, पुनरकर्जा तथा कर्जा सुरक्षण, सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरु कार्यान्वयनमा छन्। यी सबैका वाबजुद यस क्षेत्रमा पर्याप्त मात्रामा वित्तीय साधन परिचालन हुन नसकेको र यसको परिणामस्वरुपे अर्थतन्त्रमा अपेक्षित योगदान पुर्याउन नसकेको विषयलाई पनि राष्ट्र बैंकको प्रतिवेदनले उजागर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।