काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय पहुँचको स्थीति सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता रहेको जनसंख्याको आधारमा वित्तीय पहुँचको स्थिति मापन गरेको राष्ट्र बैंकले जनाएको छ
राष्ट्र बैंकको अध्ययनले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकको रुपमा लिएको छ। यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ।
यो संख्या नेपालको कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशत हुन आउँछ। यसले नेपालमा कम्तीमा ६० दशमलव ९ प्रतिशत जनसंख्यामा बैंकिङ्ग पहुँच पुगेको देखाएको छ। यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्ने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनको निश्कर्ष छ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औषत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको छ। २०७५ असार मसान्तमा कुल जनसंख्या र वैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात ४३३४ रहेकोमा २०७६ असार मसान्तमा ३३६३ मा झरेको देखिएको छ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा खाताको संख्या पनि उल्लेख्य बढ्दै गएको छ। २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ। २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो।
त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ। २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तार तीव्र रुपमा भइरहेको पनि राष्ट्र बैंकले जनाएको छ। गत एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएका छन्।
कुल ७५३ स्थानीय तहहरुमध्ये ७३९ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन्। यसैगरी प्रति बैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।