काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले 'टियोर इभी' कारको अपडेटेड भर्सन सार्वजनिक गरेको छ। पहिलेको तुलनामा नयाँ टिगोर इभीमा ब्याट्री प्याकमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ।
टाटाले नयाँ टिगोर इभी निजी प्रयोजनका लागि समेत गरिद गर्न सकिने जनाएको छ। विगतमा सार्वजनिक भएको टिगोर इभी निजी खरिदका लागि उपलब्ध थिएन। भारत सरकारले फेम-२ स्किमअन्तर्गत विद्युतीय सवारी उत्पादनमा अनुदान उपलब्ध गराएको छ। यसरी उपलब्ध गराइएको अनुदान सार्वजनिक प्रयोगनमा प्रयोग हुने सवारीमा मात्र लागू हुन्छ।
टाटा टिगोर इभी एक्सई प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरी ३ भेरियन्टमा उपलब्ध रहेको छ। सार्वजनिक प्रयोजनका लागि गरिद गरिने टिगोर इभीको सुरुवाती मूल्य ९ लाख ४४ हजार छ भने निजी प्रयोजनमा खरिद गरिने कारको मूल्य १३ लाख ९ हजार भारु तोकिएको छ।
टिगोर इभी एकपटकको फूल चार्जमा २ सय १३ किलोमिटरसम्म चल्नसक्छ। यसअघिको टिगोर इभीमा १६.२ केडब्लुएचको ब्याट्री प्याक रहेकोमा नयाँमा २१.५ केडब्लुएच ब्याट्री प्याक रहेको छ। नयाँ कारमा ७२ भी-३ फेस एसी इन्डक्सन मोटर छ जसले ४५ सय आरपिएममा ३० केडब्लू पावर र २५ सय आरपिएममा १ सय ५ एनएम टर्क उत्पादन गर्छ। यो कारमा दुई ड्राइभिङ मोड रहेको छ।
विभिन्न विशेषता रहेको टाटा टियोर इभी नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ। गत वर्षको अटो शोमा टाटाले पुरानो टियोर इभी प्रदर्शनीका लागि राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।