काठमाडौं- रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकहरुको हकहितका सम्बन्धमा युएई सरकार सकारात्मक देखिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र संयुक्त अरब इमिरेट्स युएईका मानव संशाधन मन्त्री नासेर बिन थानी अल हमालीबीच बुधबार युएईको दुबईमा भएको बैठकमा नेपाली श्रमिकहरुको हकहितका सम्बन्धमा युएई सकारात्मक देखिएको हो।
साथै नेपाल र युएईबीच गत जुनमा सम्पन्न भएको श्रम समझदारी (एमओयू)लाई प्रभावकारी कार्यान्वयन गर्न सो समझदारीपत्रमा उल्लेख भए बमोजिमको संयुक्त कार्यदल (जोइन्ट कमिटी)को पहिलो बैठक आगामी नोभेम्बरको पहिलो साता हुने सम्बन्धमा समेत छलफल भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।
बैठकमा युएईमा कार्यरत नेपाली श्रमिकहरुको पारिश्रमिक समयानुकूल वृद्धि गर्ने, श्रमिकहरुको सिप विकासका लागि दुवै देशबीच सहकार्य बढाउने विषयमा छलफल भएको थियो।
उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयका सचिव विनोद केसी, यूएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत प्रतिनिधिमण्डलका अन्य अधिकारीहरु सहभागी थिए।
मन्त्री विष्ट अक्टोबर १६ र १७ मा युएईमा आयोजित अबुधाबी डाइलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार युएई पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।