काठमाडौं- केही वर्षअघिसम्म विश्वभर फोसिल फ्युल (डिजेल/पेट्रोल) कारको विकल्पको रुपमा विद्युतीय इन्जिनयुक्त कारलाई लिइन्थ्यो। तर, पछिल्लो समय विद्युतीय कारको उत्पादन महँगो भएको र ब्याट्रीमा प्रयोग भएको लिथियम सीमित भएकाले त्यसको समेत विकल्पबारे बहस भइरहेको छ।
विश्वका ठूला कार उत्पादकहरुले विद्युतीय सवारीलाई प्राथमिकता दिइरहेका छन्। विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि ती कम्पनीहरुले हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन्। जापानी कार उत्पादक कम्पनी टोयोटा र कोरियाली कार उत्पादक हुन्डाईले हाइड्रोजन फ्युल सेलयुक्त कार समेत ल्याएका छन्।
यस्तैमा जर्मनीका एकजना अटोमोवाइल विज्ञले इलेक्ट्रिक कारको भविष्य दिगो नभएको बताएका छन्। अटोमोटिभ टेक्नोलोजी फर्म कन्टिनेन्टलका विज्ञ डा फेलिक्स ग्रेसले सन् २०३० पश्चात् विश्वमा इलेक्ट्रिक कारको विकल्पका रुपमा हाइड्रोजन कार अघि आउने बताएका हुन्। तत्कालका लागि बढ्दो वायु प्रदुषण कम गर्ने उपयुक्त विकल्प इलेक्ट्रिक कार नै भए पनि यसको प्रयोग दिगो नहुने उनको दावी छ।
‘हाइड्रोजन कार अहिले अनुसन्धानकै चरणमा रहेको हुँदा यो तत्काल प्रयोगमा आउने सम्भावना न्यून भए पनि कालान्तरमा यसकै प्रयोग बढी हुने सम्भावना उच्च छ,’ उनले भने। इलेक्ट्रिक कारले पेट्रोल/डिजेलबाट चल्ने जत्तिकै 'पफर्मेन्स' दिन नसक्ने कारण यसको लोकप्रियता बिस्तारै कम हुँदै जाने र यसको उचित विकल्पका रुपमा हाइड्रोजन कारको प्रयोग बढ्ने उनले तर्क गरे।
इलेक्ट्रिक कारको ‘भ्यालु फर मनी’ निकै कम हुने हूँदा चालकहरुले यस्ता कार प्रयोग गर्न नरुचाउने उनको भनाइ छ। इलेक्ट्रिका कारको तुलनामा हाइड्रोजन कारको ’भ्यालु फर मनी’ उच्च हुने उनको दावी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।