काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ३ महिनामा संघीय सरकारले १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। योमध्ये १ खर्ब ७२ अर्ब रुपैयाँ कर राजस्व र १० अर्ब ५१ करोड रुपैयाँ गैरकर राजस्व संकलन भएको हो।
संकलित कर वार्षिक लक्ष्यको १६.४३ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ।
यसैगरी वर्षको पहिलो त्रैमासमा १ खर्ब ७७ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ। खर्च भएको बजेट वार्षिक कूल विनियोजनको ११.६१ प्रतिशत हो।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ चालु खर्च भएको छ। वार्षिक विनियोझन ९ खर्ब ५७ अर्ब रुपैयाँको १६.३८ प्रतिशत चालु खर्च पहिलो ३ महिनामा भएको हो।
यसैगरी १८ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ। पुँजीगत खर्च कूल वार्षिक विनियोजन ४ खर्ब ८ अर्ब रुपैयाँको ४.४१ प्रतिशत भएको हो। वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब रुपैयाँ वार्षिक विनियोजनमध्ये २ अर्ब ८८ करोड अर्थात १.७२ प्रतिशत खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।