काठमाडौं- नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै ३ सय ६५ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो। २०७६ मंसिर १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मका लागि गर्न लागिएको निक्षेप लगानीले बैंक तथा वित्तीय संस्थामा भएको तरलता अभावको समस्या आंशिक रुपमा समाधान गर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले यसरी मुद्दति निक्षेपमा गर्न लागेको लगानीमा वाणिज्य बैंकहरुका लागि १ अर्ब ३१ करोड १६ लाख रुपैयाँ, विकास बैंकहरुका लागि २४ करोड ५९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीको लागि ८ करोड १९ लाख रुपैयाँ बराबरको सीमा तोकिएको छ।
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई शिलबन्दी दरभाउपत्र फारम भरी कात्तिक २२ गते शुक्रबारभित्र राष्ट्र बैंकमा दाखिला गरिसक्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।