काठमाडौं- 'भिजिट २०२०' लक्षित अन्तर्राष्ट्रियस्तरको सेफ ट्रेनिङ सम्पन्न भएको छ। ट्रेनिङमा लन्डनस्थित पाँचतारे होटल हिलटनका कार्यकारी सुसेफ लोक बलालले नेपाली परिकारलाई विदेशी पर्यटकले रुचाउने स्वादमा ढाल्ने विधिबारे तालिम दिएका थिए।
सेन्टर फर मेनेजमेन्ट एकाउन्टिङ एन्ड कन्सल्टेन्सी (सिम्याक) र अडिटर्स एसोसिएसन अफ नेपाल (अडान)ले तीनकुनेस्थित रोयल होटेलमा आयोजना गरेको ट्रेनिङमा नेपालका पाँचतारे होटेलसहित विभिन्न रेस्टुरेन्टका ५० भन्दा बढी सेफले भाग लिएका थिए।
अन्नपूर्ण, हायात, याक एन्ड यती, सांग्रिला, साम्बाला, कुटुम्ब, येलो दरबारलगायत होटेलका सेफलाई बलालले नेपाली खाद्य सामग्री फ्युजन गरी विदेशी पर्यटक रुचाउने गरी प्रयोगात्मक विधि प्रदर्शन गरेका थिए। ट्रेनिङमा बलाललाई नेपालका मास्टर सुसेफ गोपाल सिंहले सहजीकरण गरेका थिए।
ट्रेनिङमा ट्राउट, पिकल र्याडिस, ग्रापफ्रुट्स, कर्ड एग योल्क, पानीपुरी, काउली फ्लावर, गोट एन क्रोट, हर्सर्याडिस क्रिम, बिटरुट केचप, मःम लगायत २० भन्दा बढी परिकार बनाउन सिकाइएको थियो।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का पर्यटन परामर्शदाता एवं पर्यटन व्यवसायी बच्चु श्रेष्ठले विदेशी पर्यटकले नेपाली परिकार खाँदा उनीहरुको खानपानको शैलीसँग नमिलेर स्वास्थ्यमा समस्या आउने गरेको बताए। नेपाली खानालाई फ्युजन गरेर परिकार तयार गर्न सके पर्यटकलाई सहज हुने भएकाले यस्ता ट्रेनिङ उपयोगी हुने उनको धारणा थियो।
कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले विभिन्न देशबाट आउने पर्यटकलाई नेपाली खाना उनीहरुले रुचाउने स्वादमा बनाई खुवाउन सके नेपाली खानाप्रति आकर्षण बढाउन सके पर्यटकको बसाइ अवधि लम्बिने धारणा राखे। आयोजक सिम्याकका तालिम प्रमुख दिनेश तिम्सिनाले आगामी दिन यस्ता ट्रेनिङलाई निरन्तरता दिइने बताए।
ट्रेनिङमा सहभागी नेपाली सेफहरुले अन्तर्राष्ट्रिय स्तरका सेफबाट प्रशिक्षण लिन पाउँदा धेरै नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।