काठमाडौं- नेपालले सन् २०२० मा भ्रमण वर्षको तयारी गरिरहेको छ। पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी योजना गरिएको सरकारले बताउँदै आएको छ। सन् २०१८ को अन्तसम्ममा नेपालमा ११ लाख ७८ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसरी हेर्दा सरकारले राखेको लक्ष्य भेटाउन थप ८ लाख पर्यटक भित्र्याउनुपर्ने हुन्छ।
यो लक्ष्य बढी नै महत्वाकांक्षी भएको तर प्राप्त गर्न नै नसकिने प्रकृतिको भने नभएको सम्बन्धित क्षेगका अगुवाहरूले बताउँदै आएका छन्। तर सरकारले निजी क्षेत्रलाई साथमा लिएर र उनीहरूको विश्वास जितेर काम गर्नुपर्ने व्यवसायीको आग्रह छ।
पर्यटन वर्षलाई लक्षित गरेर नेपालका होटल व्यवसायीहरूले यो क्षेत्रमा लगानी बढाउँदै लगेका छन्। २०७२ सालको महाभूकम्प पश्चात होटल क्षेत्रको पूर्वाधार विकासमा उत्साहजनक प्रगति हुन नसके पनि पछिल्ला वर्षमा नेपालमा पर्यटकलक्षित होटलमा लगानी बढेको छ।
होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक शाहले पर्यटकमैत्री पूर्वाधार विकासमा सरकारले गरेका कामको प्रशंशा गरेका छन्। भ्रमण वर्ष सुरु हुन दुई महिना मात्र बाँकी भएको अवस्थामा सरकारले विभिन्न देशका राष्ट्र प्रमुखहरु नेपाल आउँदा जसरी काठमाडौँ सिंगारिन्छ, त्यसैगरी भ्रमण वर्षभर देश सिंगारिनु पर्ने उनको भनाइ छ। २० लाख पर्यटक देसको आतिथ्य उद्योगले धान्न सक्दैन कि भन्ने संशय निवारण गर्दै उनी भन्छन्, 'लक्ष्य अनुसार २० लाख पर्यटक नेपाल आए होटलहरुले सजिलैसँगै सेवा दिन सक्छन्। नेपाल घुम्न आउने पर्यटकले आधा भन्दा बढी समय होटलमै बिताउछन्। सातै प्रदेशका तारे होटेलदेखि स साना होटल साथै होम स्टेबाट पनि यो सेवा सजिलै प्रदान गर्न सक्छौं।'
उनले पर्यटकमैत्री नेपाली परिकारको विकास गरिएको समेत दाबी गरेका छन्। भ्रमण वर्ष २०२० मा केन्द्रित रहेर नेपाल लाइभका सुमन शर्माले होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहसँग गरेको कुराकानीको विस्तृत भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।