इटहरी– इटहरी उपमहानगरपालिकाले रानी- विराटनगर- इटहरी- धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराउन माग गरेको छ।
सडक निर्माण कार्यमा सवन्मय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी तरहरा सडक खण्डको डिपीआर, खरिद सम्झौतालगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको हो।
इटहरी तरहरा सडकखण्डमा फरक–फरक मापदण्ड कायम गरी निर्माण भइरहेको भन्ने बिषयमा अन्योल भएको भन्दै विभिन्न संघ सस्थाले उपमहानगरको ध्यानाकर्षण गराएकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख छ।
सोमबार उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा नागरिक समाज, संघर्ष समिति, उपमहानगर र आयोजनाका इन्जिनियरले इटहरीदेखि तरहरा सम्मको विभिन्न ठाँउमा नापजाँच गरेका छन्।
नापजाँच गर्दा इटहरीदेखि तरहरासम्म सडकको कालोपत्रे गर्ने भाग एकै नास पाइएको तर तरहरा, आँपगाछी क्षेत्रमा फुटपाथ क्लियर गरिएको, इटहरी चोकमा नगरेको पाइएको उपमेयर गौतमले जानकारी दिइन्।
इटहरी चोक क्षेत्र सबैभन्दा बढि मान्छे हिडने ठाँउ भएकाले फुटपाथ पनि क्लियर गरेर जानुपर्ने आफ्नो मान्यता रहेको उनले बताइन्। यो बिषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरेर अघि बढ्ने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।