पाल्पा– पाल्पामा ढाकाको व्यवसाय गर्दै आएका व्यवसायीहरु यसको संरक्षण र प्रवर्द्धनका लागि एकजुट भएका छन्। स्थानीय उत्पादनको नाममा आयातित ढाकाका सामग्रीले बजार ओगट्न थालेपछि उनीहरु एकजुट भएका हुन्।
जिल्ला घरेलु कार्यालयको तथ्यांकमा २० वटा ढाका उद्योग दर्ता भइ सञ्चालन भएकोमा हाल ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन। ती उद्योगहरु पनि न्यून क्षमतामा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।
ढाकाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहले कार्यक्रम अघि बढाउने तयारी गरेको छ। तानसेन नगरपालिकाले यसै वर्षको बजेट तथा कार्यक्रममार्फत पाल्पाली ढाका प्रर्वधन र विकास गर्ने भएपछि ढाका व्यवसायीहरु उत्साहित भएका हुन्।
नगरपालिकाले पाल्पाली ढाका आफैमा एउटा ब्राण्ड भइसकेकोले यसको संरक्षण र प्रवर्धनका गर्न व्यवसायीसँग सहकार्य गर्न लागेको नगर प्रमुख अशोककुमार शाहीले बताए। नगरपालिकाले पाल्पाली ढाकाको ब्राण्डेड तथा स्थानीय उत्पादनको आधिकारीक विक्रि कक्ष स्थापना गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको प्रमुख शाहीले बताए ।
व्यवसायमा देखिएको कामदारको समस्या समाधानका लागि समेत नगरपालिकाले योजनाबद्ध हिसाबले सीप विकास तालिमको व्यवस्था गर्ने प्रमुख शाहिले जानकारी दिए।
यसैगरी प्रदेश नं ५ सरकारले पाल्पाली ढाकाको प्रवर्द्धन र विकासका लागि कार्य गरी अगाडि बढ्न व्यवसायीहरुसँग छलफल गरेको छ। पाल्पाली ढाका प्रदेश ५ कै आयात प्रतिस्थापन गर्ने उद्योगको रुपमा अगाडी लैजान सकिने भन्दै यसको विकासमा साथ दिने बताएको हो।
ढाकालाई गाउँ–गाउँसम्म विस्तार गरी रोजगारी सिर्जना गर्ने र उत्पादनमा समेत बृद्धि गर्ने गरि काम गर्न ढाका व्यवसायीहरु सहमत भएका छन्। पाल्पाली ढाकाको प्रवर्द्धन र विकास आफैँले गर्ने भन्दै पाल्पामा ढाका उत्पादनका सुरुका अनुभव सुनाउदै व्यवसायी पूर्णदेवी महर्जनले भारतमा उत्पादित ढाकालाई पाल्पाली ढाकाको भन्दै बिक्री गर्दा नरमाइलो लाग्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।