काठमाडौं- नेपाल आयल निगमको इन्धन डिपो अमलेखगंजबाट मंसिर १ गते दिनको २ बजे प्रदेश १ प्रादेशिक कार्यालयका लागि डिजेल बोकेर गएको ट्यांकर अपहरणमा परेको छ।
काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल बोकेको ट्यांकर अपहरणमा परेको हो।
निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा करार सम्झौता भई संचालनमा रहेको इन्धन ट्यांक अपहरणमा परेको छ।
२० हजार लिटर डिजेल लोड भएको ना ४ ख ४१६३ नंम्बरको ट्यांकर निगमको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर लैजाने क्रममा सिरहा जिल्लाको लहानमा मूल राजमार्गको हुलाक कार्यालय अगाडि विश्राम गरेको अवस्थामा राती १२ देखि १ बजेको बीचमा लुटेराको चंगुलमा परेको हो।
६ देखि ८ जनाको समूहमा आएका अपहरणकारीले चालक र सहचालकलाई आँखामा पट्टी बाँधी सो स्थानबाट सुमोमा राखेर बर्दिबास र लालबन्दीको बीचको जंगलमा छोडेका थिए।
उक्त ट्यांकरका चालक रामदेव यादव र सहचालक उमेश यादवलाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। ट्यांकर भने अपहरणकारीले नै चलाएर लगेको चालक र सहचालकले निगमलाई जानकारी गराएको प्रवक्ता वीरेन्द्र गोइतले बताए।
ट्यांकर अपहरणका बारेमा सत्यतथ्य बुझ्न भन्दै निगमले प्रादेशिक कार्यालय प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ। छानबिन समितिलाई ७ दिनको समय दिइएको छ।
निगम उच्च श्रोतका अनुसार उक्त ट्यांकर चोरेर सीमापार भारत पुर्याइएको अनुमान गरिएको छ।
‘प्रारम्भिक अनुसन्धानबाट अपहरणमा परेको ट्यांकर नेपालबाट भारततर्फ नै गइसकेको छ,' निगम उच्च श्रोतले भन्यो, 'सत्यतथ्य केही समयभित्रै थाहा हुनेछ।'
(प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।