काठमाडौं- यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै कानूनविपरीत भएका यस्ता कार्य नगर्न/नगराउन सबैलाई आग्रह गरेको छ। विभागको उक्त सूचना मोटरसाइकल भाडामा लगाउने टुटल तथा पठाओतर्फ लक्षित देखिन्छ।
रातो नम्बर प्लेट अर्थात् निजी सवारीलाई ट्याक्सीको रुपमा प्रयोग गरेको गुनासो आएकाले विभागले उक्त सूचना जारी गरेको जनाएको छ। विभागले भनेको छ, 'सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफ ८ (२)मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ।'
विभागले निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधनहरू भाडामा लिइ यात्रु ओसारपसारमा प्रयोग गरेको जनगुनासो आएकाे जनाएकाे छ। निजी सवारीसाधन सार्वजनिक सवारीसाधनका रुपमा प्रयोग/सञ्चालन नगर्न/नगराउन विभागले सूचनामार्फत् आग्रह गरेकाे छ।
कानूनको उल्लंघन गरी निजी सवारी साधन सार्जजनिक यातायात सेवाको रुपमा प्रयोग/सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने विभागले जनाएकाे छ।
ट्राफिक प्रहरीले करिब १ वर्षअघि टुटल तथा पठाओलाई गैरकानूनी रुपमा मोटरसाइकल भाडामा यात्रु बोक्न प्रयोग गरेको भन्दै कारबाही सुरु गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही नर्गन भनेपछि अबैध कार्यले वैधता पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।