काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ प्रतिशतले बढेको छ। बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिको आर्थिक तथा वित्तीयस्थिति हेर्दा बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जाको माग १ दशमलव ३ प्रतिशतले बढी रहेको देखिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ४ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १८ दशमलव ६ प्रतिशतले बढेको छ।
असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव २ प्रतिशत, ३३ प्रतिशत र ४७. दशमलव ८ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ प्रतिशत, ३५ प्रतिशत र ४६ दशमलव २ प्रतिशत रहेको थियो। २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव ८ प्रतिशत रहेको छ।
२०७५ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३ दशमलव ८ प्रतिशत रहेको थियो। यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७ दशलमव २ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६ दशमलव २ प्रतिशतले बढेको छ।
गत असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव ४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३. दशमलव ७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ।
२०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशलमव १ प्रतिशत र १४ दशलमव ४ प्रतिशत रहेको थियो। यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ दशमलव ४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४ दशलमव ४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५ दशमलव ४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६ दशमलव ३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८ दशमलव ९ प्रतिशत, डिमान्ड तथा चालु पूँजी कर्जा ६ दशमलव २ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४ दशमलव ८ प्रतिशत, हायर पर्चेज कर्जा शून्य दशमलव ४ प्रतिशत र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ।
मार्जिन प्रकृतिको कर्जा भने शून्य दशमलव २ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।