भैरहवा- भैरहवास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्ने भएको छ। शुक्रबार बसेको सहकारी संस्थाको बैठकले सहकारी स्थापना दिवसको अवसरमा पुष ८ गते बृहत रक्तदान गर्ने निर्णय गरेको हो।
भैरहवा क्षेत्रमा भएको रगतको अभाव पूर्ति गर्न सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका सदस्य दीपक घिमिरेले जानकारी दिए। रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न प्रत्येक सेयर सदस्यले रक्तदाता जुटाउन सहयोग गर्ने निर्णय समेत भएको उनको भनाइ छ।
सहकारीको सोही बैठकले खुत्रुके बचत योजनासमेत सार्वजनिक गरेको छ। संस्थामा रहेका शेयर सदस्यहरु तथा उनीहरुका बालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धि गर्ने उद्देश्यसहित योजना ल्याइएको सहकारीले जनाएको छ।
योजना अन्तर्गत प्रथम चरणमा ५ सय खुत्रुके वितरण गरिने संस्थाका अध्यक्ष बसन्त कुमार लालकर्णले जानकारी दिए। यसरी वितरण गरिएको सबै खुत्रुकेको एउटै साँचो रहेको र त्यो पनि सहकारीको कार्यालयमै रहनेछ।
मासिक रुपमा खुत्रुके सहकारीको कार्यालयमा ल्याई त्यही खोलिने र जम्मा भएको रकम बचत खातामा जम्मा गरिनेछ। खुत्रुके बचत योजना अन्तर्गत जम्मा भएको बचतमा संस्थाले १० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ।
संस्थाका अध्यक्ष कर्णले अन्य बचतभन्दा खुत्रुके बचत योजनामा १ प्रतिशत बढी ब्याज प्रदान गरिने जानकारी दिए। बचत योजनासहित सहकारीलाई सामाजिक सुरक्षा कोषमा दर्ता गराउने लगायतका निर्णयहरु पारित गरेको संस्थाका सचिव अम्बिकाप्रसाद तिवारीले जानकारी दिए।
सिद्धार्थनगर-७ भैरहवामा प्रधान कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले १० लाख सम्मको दुर्घटना बिमा, २ लाख २५ हजारको जिवन बिमा, १ लाखको मेडिकल बिमा लगायतको सुविधा प्रदान गरेको छ। २०६४ सालमा स्थापना भई ७ सय जना शेयर सदस्य रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थामा २६ करोड रुपैया कुल पुँजी रहेको सहायक व्यवस्थापक दिपेन्द्र यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।