ललितपुर- ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको अवसर पारेर सहकारीले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको छ।
सहकारीले ८० वर्ष पुरा गरेका २६ जना जेष्ठ शेयर सदस्य र ९ जना शारीरिक अशक्तलाई नगद ५–५ हजार सहित सम्मान समेत गरेको छ। यसैगरी, एसइईमा उत्कृष्ट नतिजा ल्याउने १७ जनालाई जनही ५ हजार नगदसहित सम्मन गरिएको थियो। त्यस्तै रुसमा सम्पन्न आठौं प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा स्वर्ण पदक विजेता संस्थाका शेयर सदस्य स्वराज सागर प्रधानलाई विशेष सम्मान गरिएको थियो।
यसैगरी, ५ वर्ष स्थायी सेवा पूरा गरेका विनेश महर्जन, अनिता तको, अञ्जु सिलवाल, सारदा राई र पवित्रा खड्कासमेत सम्मानित भएका छन्। ०७५/०७६ मा उत्कृष्ठ काम गरेबापत अञ्जु सिलवाललाई २५ हजार रुपियाँसहित र अनुजा कार्कीलाई ३५ हजारसहित सम्मान गरिएको थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका संघीय समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरिएको थियो। समारोहमा बोल्दै डा भट्टराईले श्रीलालीगुराँस सहकारीले गरेको योगदानको प्रशंशा गरेका थिए। कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक वालकृण खाँड, पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए।
सहकारी संचालक समिति अध्यक्ष अमरदास श्रेष्ठले आव ०७५/०७६ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराएका थिए। संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले श्रीलालीगुराँस सहकारी उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको दाबी गरेका थिए। उनले सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराए।
सहकारीको शेयर सदस्य करिब २१ हजार रहेका छन् भने ३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको छ। सहकारीले यो वर्ष ६ जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ। चितवनको खैरहनी गाई फार्म संचालन गरेको सहकारीले आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको जनाएको छ।
सहकारीले हाल ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सा सदस्य सुविधा काउन्टर संचालन गर्दै आएको छ।
सहकारीले विभिन्न क्षेत्रमा लगानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।