काठमाडौं- यातायात व्यवस्था विभागले नयाँ व्यवस्थाअनुसार सवारी नम्बर प्लेट नराख्नेलाई कारबाही गर्ने भएको छ।
साविक बागमती अञ्चलमा ९९ सय लट सकिएपछि मोटरसाइकलमा नयाँ व्यवस्था अनुसार प्रेदेश नम्बर ३ अंकित नम्बर प्लेट राख्ने नियम आएको थियो।
हाल प्रदेश ३ सहित अन्य प्रदेशमा समेत नयाँ व्यवस्था अनुसार सवारी दर्ता हुँदै आएको छ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै यातायात व्यवस्था नियमावली अनुसार नम्बर प्लेट नराख्नेलाई कारबाही गरिने जनाएको छ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५ बमोजिम दर्ता भएका सवारी धनीलाई यातायात व्यवस्था कार्यालयले अनुसूची ६ मा उल्लेख भए बमोजिम प्रदेश संकेतसहित दिएको दर्ता नम्बर अनुसूची ६ को द्रष्टव्य ३ बमाजिम सवारीको अगाडि तल र माथि गरी दुई लाइनमा र पछाडि तल र माथि गरी तीन लाइनमा नम्बर प्लेट लेखी अनिवार्य राख्न सबै सवारी धनीहरुको जानकारीको लागि यो सूचना आएको विभागले जनाएको छ।
सो अनुसार नम्बर प्लेट राखेको नपाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने विभागले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।