काठमाडौं- सरकारले निर्माण कार्य अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारीका लागि प्रमुख खटाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कार्यालयका निर्देशक तथा प्रवक्ता प्रतापबाबु तिवारीलाई विमानस्थल सञ्चालनको तयारीको काम गर्न भन्दै प्रमुखको जिम्मेवारी दिएको हो।
प्राधिकरण महानिर्देशक राजन पोखरेलले वैशाखभित्रै अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने र चालू आवमै अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयारी गर्न तिवारीलाई जिम्मेवारी दिएको बताए।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। चिनियाँ निर्माण कम्पनीले कात्तिक मसान्तसम्ममा झन्डै ८५ प्रतिशत काम सकिसकेको छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माण अन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको छ।
आयोजनाको कार्यालयले पनि विमानस्थल सञ्चालनका लागि मार्च योग्य बनाउने गरी काम भइरहेको जनाएको छ। सरकारले पनि आउँदो वैशाखभित्र विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ। सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद थप भएको थियो। अब थप भएको समय ३५ दिन मात्रै बाँकी छ।
थप भएको समयभित्र पनि फिनिसिङको काम बाँकी रहने भएसँगै समय थपको तयारीसहित छलफल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोत बताउँछ। सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
विमानस्थलमा रन वे निर्माणको काम सकिसकेको छ भने प्रशासनिक भवन निर्माणको काम पनि लगभग सकिइसकेको छ। टर्मिनल भवनको मुख्य संरचनाको काम पनि सकिएको छ। विमानस्थलको टर्मिन भवनमा मार्बल, टायल, सिसिटिभी, एक्स-रे मेसिन जडानलगायतका काम सुरु भएको छ।
योसँगै निर्माण कम्पनीले अहिले कार पार्किङ क्षेत्रको काम थालेको छ। टर्मिनल भवनभित्र सेन्टल एसी स्टिम, डिस्प्ले बोर्ड, सिसिटिभी, युपिएस, सञ्चार उपकरण, एक्स-रे मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि धमाधम भइरहेको छ।
टर्मिनल भवनमा रहने ८/१० वटा मुख्य उपकरणमध्ये ब्यागेज ह्यान्डिलिङ र लिफ्टको कामबाहेक अन्य उपकरण जडानको काम सुरु भइसकेको छ। ब्यागेज बेल्ट र लिफ्टको सामान पनि विदेशबाट आउने चरणमा छ।
यो काम पनि सामान आएको डेढ महिनाभित्र जडान सम्पन्न हुने आकलन गरिएको छ। ‘आगामी डिसेम्बर महिनाभित्र निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि एउटा किला ठोक्ने काम पनि बाँकी रहन मिल्दैन,’ स्रोत भन्यो, ‘थोरै पनि काम बाँकी रहेको अवस्थामा त्यसलाई सम्पन्न गर्न केही समय लाग्न सक्छ। तर, हाम्रो लक्ष्य डिसेम्बरभित्रै निर्माणका सबै काम सम्पन्न गर्ने नै थियो।
काम पनि केही बाँकी रहेको र हिसाब मिलानको काम पूरा गर्न पनि केही समय लाग्ने भएपछि ३ महिनाको समय थपको तयारी भएको छ। यसबाहेक विमानस्थल सञ्चालनका लागि अन्य निकायको व्यवस्थापन, प्रमाण पत्र, उडान क्यालिबेरेसन, टेस्ट ल्यान्डलगायतको काम भने थप समय अवश्य पनि स्रोतको दाबी छ।
बाँकी काम भनेको उपकरण जडान मात्र हो। यसमा ८ प्रतिशतको हाराहारीमा काम भइसकेको छ। सिभिलतर्फको ७ प्रतिशत काम बाँकी छ भने उपकरण जडानतर्फ करिब १० प्रतिशत काम बाँकी रहेको आयोजनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।