काठमाडौं- प्याज कालिमाटी थोक बजारमै अधिकतम प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ। केही दिनदेखि थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ८० रुपैयाँका बिक्री भइरहेको प्याज मंगलबार प्रतिकेजी २० रुपैयाँ बढेर २ सय रुपैयाँ पुगेको हो।
थोक बजारमा अधिकतम प्रतिकेजी २ सय रुपैयाँमा कारोबार भएको प्याज खुद्रा बजारमा भने २ सय २० देखि २ सय ३० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। कालिकाटी तरकारी बजार विकास समितिका अनुसार आज प्याजको मूल्य औसतमा प्रतिकेजी १ सय ९२ रुपैयाँ र न्यूनतम १ सय ८० रुपैयाँका कारोबार भइरहेको छ।
समितिका अनुसार केही दिनदेखि प्याजको माग बढे पनि आयात कम भएपछि मूल्य बढेको हो। निकासीमा भारतीय प्रतिबन्धको असर नेपाली बजारमा प्रत्यक्ष रुपमा देखिएको छ। चीनबाट केही मात्रामा प्याज आए पनि बजार माग थेग्न नसकेको समितिको भनाइ छ।
मंसिर १ गते कालिमाटी तरकारी बजारमा प्याज प्रतिकेजी थोक मूल्य अधिकतम १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। तर, आज मंसिर १० गतेसम्म आइपुग्दा थोक बजारमै प्याजको मूल्य प्रतिकेजी अकितम ४० रुपैयाँले बढेर २ सय पुगेको छ।
असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकेजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो। दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजरमा एक सय रुपैयाँ र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘नेपाली बजारमा खपत हुने प्याजको बढी हिस्सा भारतबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, मागअनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिएको छ,’ पौडेलले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि स्टक रहेको प्याज र चीनबाट भएको आयातका कारण पनि प्याजको मूल्य केही समय स्थिर जस्तै बसेको व्यापारीहरुको भनाइ छ। अहिले बजारमा प्याजको माग बढे पनि निर्यात भने अति नै कम भएको छ। जसका कारण प्याजको मूल्य बढ्न थालेको कालिमाटी तरकारी बजार विकास समितिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।