काठमाडौं- निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती चरणमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीलाई दिने छुटको प्याकेजबारे तयारी गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीलाई दुई वर्षसम्म दिने छुटको प्याकेज तयार पारेको हो।
प्राधिकरणको बोर्ड बैठकले छुटको प्याकेज तयार पार्दै मन्त्रालयमा पठाएको छ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि प्राधिकरणबाट आएको प्रस्तावको विषयमा आवश्यक कारबाहीका लागि मन्त्रालयकै हवाई उद्योग महाशाखामा पठाएका छन्।
यस्तो छ छुट प्याकेज
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई दिने छुट प्याकेज प्राधिकरणले २०२० डिसेम्बर ३१ सम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने गरी प्रस्ताव पेस गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई दुई वर्षसम्मको प्रोत्साहन प्याकेज दिने गरी प्रस्ताव मन्त्रालयमा पठाएको हो।
- उडान सञ्चालन गरेको मितिले पहिला एक वर्षसम्म अवतरण शुल्क, पार्किङ शुल्क, सञ्चार तथा सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने।
- उडान गरेको दोस्रा वर्षको हकमा भने यी सबै शीर्षकमा ५० प्रतिशत शुल्क छुट दिने।
सञ्चालन आधार स्थल तोक्ने वायुसेवा कम्पनीको हकमा यस्तो सुविधा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार स्थल तोक्ने अन्तर्राष्ट्रिय उडान गर्न प्रस्ताव गर्ने नेपालमा दर्ता भएका वा हुने वायुसेवा कम्पनीहरुलाई पनि प्रोत्साहन प्याकेज दिने भएको छ।
- वायुसेवा कम्पनीहरुलाई आफैँ भूमिस्थ प्रबन्ध सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) सेवा सञ्चालन गर्न दिने।
- ह्याङगर निर्माण गर्न चाहेने वायुसेवा कम्पनीलाई ५ वर्षसम्म जग्गा भाडामा छुट दिने।
- फ्लाइट क्याटरिङ गर्न चाहने वायुसेवा कम्पनीहरुलाई विमानस्थलमा जग्गा उपलब्ध गराउने।
अन्य सहुलियत तथा प्रोत्साहन सुविधा
- वायुयान मर्मत सम्भार संस्था (एमआरो) सञ्चालन गर्ने संस्थालाई ५ वर्ष जग्गा भाडा छुट दिने।
- भूमिस्थ प्रबन्ध सेवा उपल्बध सेवा उपलब्त्र गराउने संस्थाहरुलाई पनि ५ वर्षसम्म प्राधिकरणले लिने शुल्कमा छुट।
- वायुसेवा कम्पनीले होटल सञ्चालन गर्न चाहेमा विमानस्थलमा जग्गा उपलब्ध गराउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।