काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा दिवस बुधबार (आज) मनाइँदै छ। २०७५ मंसिर ११ गते औपचारिक सुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए।
सोही घोषणा अनुसार बुधबार भृकुटी मण्डपमा एक कार्यक्रम आयोजना गरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ। नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरु अनिवार्य रुपमा समेटिने गरी अघि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १ लाख ११ हजारबढी श्रमिक र ११ हजार बढी रोजगारदाता सूचिकृत भएका छन्।
बाँकी रोजगारदाता र श्रमिकहरु यहि १५ गतेभित्र सूचिकृत भइसक्नु पर्ने अन्तिम मिति तय गरिएको छ। रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ।
जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टि गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिक रुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नु पर्दछ। योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ।
कोषले प्रारम्भिक चरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना गरी ४ वटा योजनाहरु अघि सारेको छ। कोषमा जम्मा भएको योगदानकर्ताहरुको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलव ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत गरी कुल ३१ प्रतिशत रकमलाई बाँडफाँड गरेको छ।
पछिल्लो समय कोषले योगदानकर्ताहरुलाई कर्जा सुविधा समेत उपलब्ध गराउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।