काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूला परियोजनाको काम समयमै सम्पन्न गर्न नसके पनि आन्तरिक विमानस्थल स्तरोन्नतिको काम भने समयमै सम्पन्न गरेको छ।
प्राधिकरणले आवको ४ महिनाभित्रै लामो समयदेखि पूरा हुन नसकेको काम पनि फत्ते गरेको छ। प्राधिकरणले लुक्ला विमानस्थल सोलार उर्जाबाट सञ्चालन गर्नेदेखि देशभरका विमानस्थल मर्मतको काम सम्पन्न गरेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार डिसेम्बरभित्रै विमानस्थलको दक्षिणतर्फ निर्माण भइरहेको दुईवटा वाइडबडी जहाज पार्किङ स्थल निर्माणको काम समेत सम्पन्न हुँदैछ।
केही समय अगाडि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा ठूला जहाज पार्किङ गर्न सक्ने रिमाेर्ट पार्किङ वे समेत निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे पोखरेलले जानकारी दिए। प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलको क्षमता विस्तार, मर्मतसम्भार जस्ता काममा सफलता मिलेकाे जनाएकाे छ। प्राधिकरणले उपत्यका बाहिरका विमानस्थलहरुमा पनि आवश्यकता अनुसार मर्मतसम्भार तथा क्षमता विस्तार भएको जनाएको छ।
धनगढी, नेपालगञ्ज, विराटनगर, जनकपुर, चन्द्रगढी, ताप्लेजुङ तथा जोमसाेम विमास्थलको मर्तत तथा स्तरोन्नतिको काम सकिसकेको पोखरेलले बताए। झापाको चन्द्रगढी विमानस्थल पनि यही कार्तिक २६ गतेबाट पूर्णरूपमा उडान तथा अवतरण बन्द गरेर मंसिर ५ गते नै मर्मत सम्पन्न गरेको पोखरेलको भनाइ छ। अहिले देशभरका आन्तरिक विमानस्थलको रन वे ओभरले, ट्याक्सी वे तथा पार्किङ निर्माण तथा मर्मतको काम सकिएको उनले जानकारी दिए।
भरतपुर र गुल्मीको विमानस्थलको स्तारोन्नतिको काम पनि सुरु भएको उनको भनाइ छ। यसैबीचत प्राधिकरणले डोटीको विमानस्थल कालोपत्रे गरेको छ भने गुल्मीमा कालोपत्रे गर्नका लागि सम्झौता गरिसकेको छ। काठमाडौं बाहिरका विमानस्थल स्तारोन्नतिको आयोजना १२ करोड रुपैयाँ माथि काम भइसेको उनको भनाइ छ। साथै गएको एक वर्षमा सवा अर्ब भन्दा बढी रकमको लागतमा विमानस्थल स्तरोन्नतिको काम भएको उनको दाबी छ।
पोखरेलका अनुसार धगढी विमानस्थलको धावनमार्गमाथि कालोपत्रे र नेपालगञ्जमा पार्किङ वे विस्तारको काम पनि सम्पन्न भएको छ। नेपालगञ्ज विमानस्थलमा ६ वटा एटिआर ७२ जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङ वे विस्तार भएको छ। जनकपुर विमानस्थलमा रात्रिकालीन उडानका लागि पूर्वाधार विस्तार गरेको प्राधिकरणले विराटनगर विमानस्थलमा पनि पार्किङ वे तथा टर्मिनल भवन निर्माणको काम अघि बढाएको छ।
यसबाहेक जुम्ला, जोमसाेम, ताप्लेजुङ र इलामको विमास्थलको पनि स्तरोन्नति भएको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।