काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले मंसिर १५ गतेबाट २४ गतेसम्म चितवनको भरतपुर विमानस्थल बन्द गर्ने जानकारी गराएको छ।
कार्यालयले विमानस्थलको रन-वेको ओभार-ले तथा पार्किङ वे विस्तारका लागि भन्दै विमानस्थल बन्द गर्न लागेको जनाएको छ। यो समयमा कुनै पनि उडान तथा अवतरण नुहने हुँदा कार्यालयले उडान गर्दै आएको हवाइ सेवा प्रदायक कम्पनीलाई उडान तालिका मिलान गर्न समेत भनेको छ।
रनवे ठाँउ ठाँउमा भत्किएको तथा उप्किएको कारण मर्मत गर्न लागेको जनाएको छ। झण्डै २० वर्षदेखि विमानस्थलको धावन मार्गमा ओभर-ले गरिएको छैन। साथै यस अघि प्राधिकरणले कात्तिक २६ गतेबाट मंसिर ५ गतेसम्म सबै उडान बन्द गराएर झापाको चन्द्रगढी विमानस्थलको मर्मत गरेको थियो।
प्राधिकरणले यस आर्थिक वर्षमै विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुर लगायतका विमानस्थलको रन–वे मर्मत तथा पार्किङ विस्तारको काम गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।