काठमााडौं- काठमाडौंको भृकुटीमण्डपमा १७औँ हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता सुरु भएको छ। बिहीबार एक कार्यक्रम गरी मेला उद्घाटन गरिएको हो।
मंसिर १२ गते देखि ५ दिनसम्म चल्ने यो मेलामा १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेलाका संयोजक धर्मराज शाक्यले बताए।
‘नेपाली उत्पादनलाई विश्वबजारसम्म पुर्याउन सहज होस् भन्ने हिसाबले मेला आयोजना गरेका हौँ, कलाकार र उद्यमीको मनोबल उच्च बनाउन हामीले हस्तकला प्रतियोगितालाई पनि सँगसँगै अगाडि बढाएका छौँ,’ संयोजक शाक्यले भने।
मेलामा महिला तथा विकट स्थानका व्यापारीलाई निःशुल्क स्टल प्रदान गरिएको कार्यक्रम संयोजक शाक्यले जानकारी दिए।
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकलाको सम्भाव्यताको जानकारीका लागि यस वर्ष हस्तकला व्यापार मेला सुरु गरेको बताए।
‘हस्तकलाले नेपालमा रहेको वैदेशिक व्यपार घाटालाई कम गरेको छ, आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न हस्तकलाले ठूलो भूमिका खेलेको छ,’ अध्यक्ष शाक्यले भने।
अघिल्लो वर्ष ५ अर्ब बराबर हस्तकलाका सामग्री निकासी भएको उनले दाबी गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पछिल्लो समय हस्तकला निर्यातमा कमी आएको दाबी गरे।
‘नेपालमामा लगानी योग्य रकमको अभाव छ, बैंकबाट ऋण लिएर व्यवसाय गर्नुपर्ने अबस्थामा ब्याजदरमा अनियमितता हुँदा साना व्यवसायीहरु मारमा परेका छौँ, सरकारले त्यतातिर ध्यान दिइ हस्तकला व्यवसायको विकासमा जोड दिनु पर्दछ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारको स्रोत र साधनले भ्याएसम्म हस्तकला प्रवर्द्धनका लागि सरकारले बित्तिय लगायत अन्य सहयोग गर्न तयार रहेको बताए।
‘सरकारले विदेशी आयातकर्ताहरुलाई पनि नेपालमा ल्याउने कोसिस गरिरहेको छ, जसबाट नेपालमा उत्पादन भएका सामग्री विश्व बजारमा सहज ढंगबाट पुर्याउन सकिन्छ,’ सचिव अर्यालले भने।
अर्थमन्त्री युवराज खतिवडाले नेपालले ठूलो परिणाममा हस्तकलाका वस्तु निर्यात गर्न नसकेको बताए।
‘नेपालबाट वार्षिक ५ अर्ब बराबरको हस्तकला सामग्री निर्यात हुनु भनेको ठूलो परिणाम होइन,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकार हस्तकला निर्यात बृद्धि गर्न चाहिरहेको छ । सरकारले हस्तकलाको निर्यात कति भइरहेको छ भनेर अध्ययन अगाडी बढाएको छ।’
व्यवसायीहरुले हस्तकला उत्पादन तथा निर्यातसम्बन्धी ठोस योजना बनाएर सरकार सामु पेस गरे सहकार्य गरेर हातेमालो गर्न सरकार तयार रहेको अर्थमन्त्री खतिवडाले बताए।
मेलामा ७ प्याभिलियनसहित २ सय वटा स्टलहरु रहेका छन्। जसमध्ये छिमेकी मुलुक भारत, थाइल्यान्ड, चीन, जापान लगायत मुलुकबाट २० वटा स्टल रहेका छन्।
कपडा, सजावटका सामग्री, जुत्ता, खाद्यान्न लगायतका विभिन्न सामग्रीहरु व्यापार तथा प्रदर्शनका लागि राखिएका छन्।
हस्तकला व्यापार मेला १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।