काठमाडौ- ग्लोबल आइएमई बैंक र जनता बैंकले मंसिर २० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।
नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जान दिएको अन्तिम स्वीकृतिसँगै एकीकृत कारोबार हुने भएको हो।
यी दुई बैंकको मर्जरसँगै ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै चुक्तापूँजी भएको बैंक बन्ने भएको छ। मर्जरपछि बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ। ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५/०७६को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ।
यस्तै जनता बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसँगै बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ रुपैंया पुग्नेछ। मर्जरपछि ग्लोबल आइएमई बैंकको कूल निक्षेपको २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ। यस्तै शाखा कार्यालय करिब ३ सय, एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा र ३३ वटा एक्सटेन्सन काउन्टर पुग्नेछन।
यसैगरी बैंकका कर्मचारी संख्या ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।