काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ।
यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताएका थिए। उनले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरे।
सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाखभन्दा बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्राविधीक रुपले निकै लाभान्वित हुने बताए। बैंकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क रुपमा उपलब्ध गराउने छ।
सो सिममा ५० रुपैयाँ बराबरको नि:शुल्क टक टाइम समेत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।