काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा नेपालले ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।
वर्षको पहिलो ४ महिनामा आयात ६.९२ प्रतिशतले घट्दा निर्यात २३.९० प्रतिशतले बढेको छ। चालु वर्षको पहिलो चार महिनामा नेपालले ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात गर्दा ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षको पहिलो चौमासिकमा व्यापार घाटा ८.९० प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब १ करोड रुपैयाँमा झरेको छ। गत वर्षको यही अवधिमा कूल व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ थियो।
आर्थिक वर्षको पहिलो चौमासिकमा भारतबाट २ खर्ब ७२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। भारततर्फको निर्यात २४ अर्ब २६ करोड रुपायँ बराबरको छ। यसैगरी चीनबाट ८० अर्ब १८ करोड रुपायँको वस्तु आयात गर्दा ७१ करोड ६ लाख रुपैयाँको निर्यात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।