काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३४ अर्ब ७४ करोड ६४ लाख ९४ हजार रुपैयाँको सवारी तथा त्यसमा प्रयोग हुने पाटपुर्जा आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.७३ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको यही अवधिमा ३७ अर्ब ८ करोड ५३ लाख ७७ हजार रुपैयाँको सवारी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। सवारी आयात घटेसँगै सरकारले सवारीबाट संकलन गर्ने राजश्व समेत घटेको छ।
सवारी आयात ६.७३ प्रतिशतले घट्दा राजश्व भने १६.७२ प्रतिशतले घटेको हो। आव २०७५/७६ को पहिलो चार महिनामा सरकारले सवारी आयात गरेबापत ३७ अर्ब ३५ करोड २८ लाख ५० हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो। यो वर्षको पहिलो चार महिनामा भने सवारी आयात बापतको ३१ अर्ब ९९ करोड ९८ लाख ६९ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सारले सार्वजनिक गरेको तथ्यांकमा छ।
सरकारले सवारीसाधनलाई अनुत्पादक क्षेत्रभन्दै सवारी साधनमा कडाई गरेसँगै गत वर्षदेखि सवारी आयात कम हुँदै आएको छ। सवारी राजश्व घट्नुको एउटा कारण सरकारले विद्युतीय सवारीको आयातलाई दिएको प्राथमिकता हो।
विद्युतीय सवारीमा १० प्रतिशत राजश्व मात्र लाग्दै आएको छ। सवारी आयात तथा राजश्वमा आएको गिरावटले सरकारको राजश्व लक्ष्य समेत नभेटिने संकेत देखिएको छ।
सवारी आयात घट्दा देशको अर्थतन्त्रमै प्रभाव पर्ने व्यवसायीहरुको भनाइ छ। सवारीसाधनले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने सवारी आयात घट्नु सकारात्मक नभएको अटो व्यवसायीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।