काठमाडौं- चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो ४ महिनामा (साउनदेखि कात्तिक सम्म)मा कन्डम आयात ५३ दशमलब २२ प्रतिशतले बढेको छ।
भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ६३ हजार ६ सय २१ केजी कन्डम आयात गरेको छ। तर, गत आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिका भने ४१ हजार ५ सय २१ केजी कन्डम आयात भएको थियो।
नेपालबाट चालु आवको पहिलो ४ महिनामा कन्डम आयातमा मात्रै ७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ। तर, गत आवको सोही अवधिमा भने कन्डम आयातमा नेपालबाट ३ करोड ५९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको थियो। चालु आवमा नेपालले सबैभन्दा बढी कन्डम भारतबाट आयात गरेको छ।
भारतबाट मात्रै ६१ हजार २ सय ८ केजी कन्डम आयात भएको छ। यसैगरी, चीनबाट ४ सय ५४ केजी, दक्षिण कोरियाबाट ४ सय १८ केजी, मलेसियाबाट १ हजार ५ सय ३८ केजी र अमेरिकाबाट २ केजी कन्डम आयात गरेको छ।
२०७२/०७३ यताको आयात परिमाण भन्सार विभागमा अनुसार आव २०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको थियो।
यसैगरी, २०७३/७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार २ सय ७७ केजी, २०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार ९ सय ९८ केजी र २०७५/७६ मा १३ करोड ५३ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।