काठमाडौं- भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर पछिल्लो ६ वर्षयताकै न्यून देखिएको छ। शुक्रबार भारतको तथ्यांक तथा योजना कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०१९ को दोश्रो त्रैमासिक विवरणअनुसार भारतको जिडिपी वृद्धिदर साढे ४ प्रतिशतमा खुम्चिएको हो।
उत्पादन क्षेत्र र कारखानामा बन्ने सामानको उत्पादन घटेसँगै भारतीय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान पनि कम देखिएको छ। भारतको औद्यागिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतबाट घटेर ३ प्रतिशतमा पुगेको छ। त्यस्तै कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ९ प्रतिशतबाट घटेर २ दशमलव १ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ७ दशमलव ३ प्रतिशतबाट घटेर ६ दशमलव ८ प्रतिशतमा पुगेको छ। यसअघि सन् २०१३ जनवरीमा भारतको जिडिपीमा ४ दशमलव ३ प्रतिशतसम्मको गिरावट देखिएको थियो।
पछिल्ला ६ वटा त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन निरन्तर आरालो लाग्ने क्रममा छ। भारतमा आर्थिक वर्ष (वित्त वर्ष) २०१८/१९ को शुरुवातमा जिडिपी वृद्धिदर ८ प्रतिशत थियो। सोही वर्षको दोश्रो त्रैमासमा उक्त वृद्धिदर ७ प्रतिशत, तेश्रो त्रैमासमा ६ दशमलव ६ प्रतिशत र चौथो त्रैमासमा ५ दशमलव ८ प्रतिशत पुगेको थियो। जिडिपीमा ओरालो लाग्ने क्रमले चालु आर्थिक वर्ष २०१९/२० मा पनि निरन्तरता पाएको हो। यो आवको पहिलो त्रैमासमा जिडिपी ५ प्रतिशतमा पुगेको थियो।
नरेन्द्र मोदीको नेतृत्वमा गठित सरकारले ५ वर्षमा ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ। जसका लागि भारतले हरेक वर्ष ८ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने हुन्छ। तर यो आर्थिक वर्षमा खस्कँदो क्रममा निरन्तरता पाएको जिडिपी वृद्धिदरले भारत सरकारको लक्ष्यमा पनि धक्का पुग्ने देखिएको छ।
भारतमा पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण कर्पोरेट ट्याक्सलाई ३० प्रतिशतबाट घटाएर २२ प्रतिशतसम्म झारिएको छ। हाउजिङ क्षेत्र, बैंकिङ क्षेत्र, र अटो क्षेत्रमा देखिएको आर्थिक सुस्तता देखिएपछि त्यस क्षेत्रमा करको सहुलियतको घोषणा गरेको थियो। यद्यपि त्यसको सकारात्मक असर अर्थतन्त्रको वृद्धिदरमा भने प्रतिबिम्वित हुन सकेन।
भारतीय अर्थतन्त्रको ‘कोर सेक्टर’ मानिने ८ वटा वस्तुको उत्पादनमा निरन्तर कमी देखिनुलाई जिडिपी ओरालो लाग्नुको मुख्य कारण मानिएको छ। कोइला, अप्रशोधित इन्धन, प्राकृतिक ग्यास, रिफाइनरी प्रोडक्ट, रासायनिक मल, स्टिल, सिमेन्ट र विद्युतीय सामाग्रीको उत्पादन र खपतमा निरन्तरको गिरावटको असर अर्थतन्त्रमा देखिएको हो।
गत मार्चको तथ्यांकअनुसार भारतमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन २०४१ अर्थात् १ लाख ४६ हजार भारतीय रुपैयाँ बराबर रहेको देखिन्छ। कमजोर आर्थिक वृद्धिदर र जिडिपीमा देखिएको गिरावटपछि सरकारमा रहेको भारतीय जनता पार्टीले आलोचना खेपिरहेको छ।
-एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।