रुपन्देही- प्रदेश नं ५ को सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नीति ल्याएको छ। सरकारले वितरण गर्ने अनुदान कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ ल्याइएको हो।
विभिन्न मन्त्रालयहरुले वितरण गरेको अनुदान व्यवस्थित नभएको गुनासो आएपछि साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ स्वीकृत गरेको हो। प्रदेश सरकारले वितरण गर्ने अनुदान व्यवस्थित र पारदर्शी बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए।
सरकारले वितरण गर्ने अनुदानको ठूलो हिस्सा दुरुपयोग र अनियमितता भएको पाइएपछि अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन तयार गरिएको उनकाे भनाइ छ। अनुदान दिँदासमेत मन्त्रालयका कर्मचारीले कमिसन माग गरेको भेटिएपछि अनुदान वितरणलाई पारदर्शी बनाउन मार्गदर्शन ल्याउनुपरेको सरकारका प्रवक्ता चौधरीले जानकारी गराए।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाँडेको कृषि अनुदान दुरुपयोग भएको समाचार बाहिर आएको थियो। मन्त्रिपरिषद् बैठकले प्रदेश प्रसारण नियमावली २०७६ स्वीकृत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।