काठमाडौं- सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई चुनाव लागेको छ। नाडाले आज सूचना जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।
नाडाको ४३औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम आगामी पुष ४ गते हुँदैछ। नाडाको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ता यही मंसिर २९ गतेका लागि तय गरेको छ। त्यस्तै मतदाताको अन्तिम नामावली २६ गने प्रकाशित हुनेछ।
नाडाको विधान अनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ। संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नाडाको चुनाव पुस ४ गते हुनेछ भने मतगणना सोही दिन गरिने तय भएको छ।
अध्यक्षमा दुलाल र कपुरीको चर्चा
नाडाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीले उमेद्वारी दिने भएका छन्। संस्थाको आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलालले आफूले उमेद्वारी दिने निश्चित भएको बताए।
त्यस्तै अर्का उपाध्यक्ष प्रकाश कपुरीले समेत उमेद्वारी दिने बताएका छन्। संस्थाको आउँदो नेतृत्वका लागि आफूले अध्यक्षमा उमेद्वारी दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।