काठमाडौं- पछिल्लो समय वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन तथा मानव तस्करीका घटना बढ्दै गएको महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह (एटविन)को अध्ययनले देखाएको छ।
विसं २०७५ वैशाखदेखि चैत मसान्तसम्म एक वर्षको अध्ययनले वैदेशिक रोजगारीको नाम लिएर मानव बेचबिखन तथा ओसारपसार हुने गरेको देखाएको हो।
वैदेशिक रोजगारीको नाम लिएर महिलासँगसँगै पुरुषहरु पनि बेचबिखनमा पर्ने घटना बढ्दै गइरहेको तर पुरुष बेचबिखनमा परेका घटनाहरु सार्वजनिक हुन नसकेको एटविनले जनाएको छ।
एटविनले गरेको एक अध्ययनले एक वर्षको अवधिमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष बेचबिखनमा परेको देखाएको छ।
नेपालमा बढ्दो गरिबी, बेरोजगारी तथा अभावका कारण वैदेशिक रोजगारीका नाममा मावन बेचबिखन तथा ओसारपसार बढ्दै गइरहेको एटविनकी अध्यक्ष नातीसरा राईले बताइन्।
‘मानव बेचबिखनका घटना रोक्न सरकार, निजी संस्था, संचारमाध्यमहरुलगायत जिम्मेवार निकाय सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ‚’ अध्यक्ष राईले भनिन्।
राम्रो काम र कमाइको प्रलोभन देखाएर ठूलो संख्यामा नेपालीहरुलाई सीमा पार पुर्याई बेचबिखन गर्ने गरेको पाइएको छ।
मलेसिया, कतार, साउदी, युएई, कुबेत लगायत मुलुकमा नेपाल सरकारले घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएसँगै छिमेकी मुलुक भारत हुँदै जाने र बेचबिखन तथा ओसारपसारमा पर्नेहरुको संख्या बढ्दै गएको विभिन्न सरोकारवालाहरुले टिप्पणी गरेका छन्।
पछिल्लो समय छिमेकी मूलुक चीन र भारतमा पनि नेपालीहरु ठूलो संख्यामा बेचबिखन भइरहेको पाइएको छ। नक्कली विवाह गरी युवतीहरुलाई चीन पुर्याउने र यौनधन्दामा संलग्न गराउने घटना बढ्दै गइरहेका छन्।
ठूलो संख्यामा बालबालिका प्रभावित
मानव बेचबिखन तथा ओसारपसारमा सबैभन्दा ठूलो संख्यामा बालबालिका प्रभावित भएका छन्। १७ वर्ष उमेर समुहसम्मका ५० प्रतिशत बालबालिका प्रभावित भएको एटविनको अध्ययनमा उल्लेख छ। १८ देखि २९ वर्ष उमेर समुहका ४१ प्रतिशत युवायुवती बेचबिखनमा परेका छन्। अन्य उमेर समुहका मानिसहरु पनि केही संख्यामा बेचबिखनमा परेका छन्। बालबालिकामा चेतनाको अभाव तथा गरिबी‚ बेरोजगारीको समस्याले गर्दा पनि बेचबिखनका घटनाले बढावा पाउँदै गएको देखिएको छ।
मानव बेचबिखन तथा ओसारपसारमा एजेन्ट र म्यानपावर व्यवसायीको संलग्नता
मानव बेचबिखन तथा ओसारपसारमा सबैभन्दा बढी एजेन्ट तथा म्यानपावर व्यवसायीहरुको संलग्नता रहेको पाइएको छ। ३३ प्रतिशत म्यानपावर तथा एजेन्टको संलग्नता रहेको पाइएको छ। त्यस्तै विभिन्न संगठन, आफन्त, परिवार, आफ्नै श्रीमान लगायत व्यक्तिहरु पनि मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ।
न्याय पहुँचमा कमी
बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएकाहरुको न्याय पहुँचमा कमी देखिएको छ। अझ वैदेशिक रोजगारीका नाममा बेचबिखन तथा ओसारपसारमा परेकाहरुको उजुरी वैदेशिक रोजगार विभागले नलिने, नेपाल प्रहरीमा उजुरी गर्दा पनि मानव तस्कर तथा बेचबिखनमा संलग्नहरुलाई ठगी कसुरमा मात्रै कारबाही गरिने जस्ता समस्या विद्यमान देखिएका छन्। जसले गर्दा प्रभावितहरुले यथोचित न्याय पाउन सकिरहेका छैनन्।
रिटर्नी आप्रवासी महिला समुहकी अध्यक्ष विजया श्रेष्ठले पीडितहरुले आफ्नो वास्तविक कुराहरु भन्न हिच्किचाउने हुँदा पनि न्याय पहुँचमा पुग्न समस्या देखिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।