काठमाडौं- साउदीस्थित अर्काद इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत २ सयभन्दा बढी नेपाली श्रमिक समस्यामा परेका छन्।
कम्पनीले उनीहरुलाई तलब तथा सेवासुविधा नदिने बिरामी हुँदा औषधी पनि नदिई काममा मात्रै खटाउने गर्दा उनीहरु समस्यामा परेका हुन्।
सिन्धुपाल्चोक जुगल गाउॅपालिका २ नाम्फाका विवेक विश्वकर्मा विगत २३ महिनादेखि उक्त कम्पनीमा कार्यरत छन्। उनलाई ६ महिनादेखि कम्पनीले तलब दिएको छैन।
‘मलाई कम्पनीले अकामा पनि दिएको छैन। पुरानो अकामा भएका साथीहरुको म्याद गुज्रिँदा पनि नविकरण गरिएको छैन‚’ विवेक भन्छन्, ‘मलाई कम्पनीले २१ महिनामा घर पठाउँछु भनेर न घर पठाएको छ न तलब दिएको छ। अरु साथीहरुको करार अवधि सकिँदा पनि उनीहरुलाई ९ महिनासम्म नेपाल फर्कन दिइएको छैन।’
‘खाना पनि राम्रो खान पाएको छैन। पशुलाई जस्तै व्यवहार गरी प्लास्टिकमा खाना दिएको छ, निकै दुर्गन्धित ठाउँमा राखेकाले हामी बिरामी पर्छौ। बिरामी पर्दा न औषधी उपचार गर्न पठाउँछ न घर पठाउँछ‚’ विवेकले भने ।
विवेक केएसए म्यानपावरमार्फत रोजगारीका लागि साउदी पुगेका थिए। उनलाई आकर्षक काम र कमाइको प्रलोभन देखाएर म्यानपावरले साउदी पठाएको थियो। अहिले म्यानपावरमा पीडितहरुले सम्पर्क गर्दा ‘कम्पनीसँगै कुरा गर’ भनेर बेवास्ता गर्ने उल्टै धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका छन्।
केएसए म्यानपावरका प्रतिनिधी (एजेन्ट) प्रेम गिरीमार्फत साउदी पुगेका विवेक विश्वकर्माले आफू समस्यामा परेकाले साउदीबाट नेपाल फर्काउन अनुरोध गर्दा ‘कम्पनीमै कुरा गर्नु मलाई थाहा छैन’ भनेर ठाडो प्रतिक्रिया दिने, धम्की दिने गरेको गुनासो पीडितको छ।
नेपाल लाइभले केएसए म्यानपावरका प्रतिनिधि प्रेम गिरीसँग प्रतिक्रिया लिँदा आफूले धम्की नदिएको दाबी गरे।
‘पहिले त्यो कम्पनी राम्रो थियो। अहिले कामदारलाई त्यो कम्पनीले नराम्रो व्यवहार गर्न थालेछ। हाम्रो म्यानपावरमार्फत गई समस्यामा परेका श्रमिकहरुलाई झिकाउन हामी पहल गर्छौँ‚’ म्यानपावरका प्रतिनिधी गिरीले भने, ‘साउदीमा समस्यामा परेका श्रमिकहरुको उद्धार गर्न निकै कठिन छ, हामी परराष्ट्र र श्रम मन्त्रालय धाइरहेका छौँ, दूतावासमा पनि कुरा गरिहेका छौँ।’
समस्यामा पर्ने अन्य विभिन्न म्यानपावर कम्पनी तथा एजेन्टमार्फत गएका सल्यानका प्रेमबहादुर सार्की, बाराका पूर्णबहादुर स्याङ्तान, नेपालगञ्जका निरज चौधरी, धरानका हरिबहादुर राई, रामेछापका सुविन थापा, धादिङका जीतबहादुर मगर, धनुषाका नथुनि ठाकुर लगायत २ सयभन्दा बढी नेपाली श्रमिकहरु छन्।
रोजगारीका लागि साउदी पुगेका उनीहरुले म्यानपावरलाई १ लाखभन्दा बढी रकम बुझाएर साउदी गएका थिए। तर उनीहरुलाई म्यानपावरले आफूले बुझाएको जति रकमको प्रमाण पनि दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।