काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘स्टक मार्केट इन्डेक्स फ्यूचर’ र ‘इक्विटि बेस्ड डेरिभेटिभ’ कारोबार प्रणाली लागु गर्नका लागि अध्ययन थालेको छ।
नेप्सेको अहिलेकै प्रणालीलाई थप सुदृढ र व्यवस्थित गरि वस्तु विनिमय बजारसँग सम्बन्धित यी दुई बजार प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार यी दुई कारोबार प्रणाली कसरी सुरु गर्ने भनेर अहिले नेप्सेले विज्ञ समुह बनाई अध्ययन गरिरहेको छ।
'नेप्सेको अहिलेको प्रणालीबाटै डेरिभेटिभ मार्केकको सम्भावना छ, छैन भनेर हामी अध्ययन गरिरहेका छौं। इन्डेक्स फ्यूचर र इक्विटि बेस्ड डेरिभेटिभ प्रणाली लागू गर्ने विषयमा पनि अध्ययन भइरहेको छ,’ उनले भने। फाइनान्सियल डेरिभेटिभ लाई छुट्टै कारोबार गर्ने प्रणाली स्थापना गर्ने नभई नेप्सेमा अहिले रहेको प्रणाली बाटै यसको पनि कारोबार गर्न सकिने विषयमा नेप्सेले अध्ययन थालेको हो।
वस्तु विनिमय बजारसँग सम्बन्धित ऐन र नियमावली बनिसकेको भएपनि यस्तो कारोबार प्रणाली अझै सुरु भइसकेको छैन। हाल वस्तु विनिमय बजार स्थापनाका लागि दुईवटा निकाय नेपाल धितोपत्र बोर्ड र नेप्से पहल गरिरहेका छन्।
वस्तु विनिमय बजारका लागि भन्दै धितोपत्र बोर्डले शोधपत्र प्रस्तावका लागि पनि आह्वान गरेको छ। शोधपत्रमा गरिएको अध्ययनबाट नेपालमा वस्तु विनिमय बजारका कसरी सञ्चालन गर्न सकिन्छ भनेर जानकारी लिन सजिले हुने भएकाले यस्तो प्रस्ताव राखिएको बोर्डले जनाएको छ।
विश्वका प्रतिष्ठित र ठूला सेयर बजारहरुले मुद्राको सट्टेबाजी अप्सन र फ्युचर, धितोपत्रको अप्सन र फ्युचर, इन्डेक्स अप्सन र फ्यूचर विनिमयजस्ता तरिकाहरु अपनाउने गरेका छन। पुँजी बजार सम्बन्धी विश्वभर स्थापित मान्यता र प्रावधानलाइ नेपालको हकमा पनि अनुसरण गर्ने उद्देश्यले नेप्सले यो प्रकृया अगाडि बढाएको हो।
के हो स्टक मार्केट इन्डेक्स फ्युचर?
सेयर खरिद बिक्री सम्बन्धी भविष्यका लागि गरिने कारोबार प्रणाली हो। यसमा लगानीकर्ताले भविष्यको इन्डेक्सलाई अनुमान गरि कारोबार गर्छन। इन्डेक्स फ्युचर पुँजीबजारको हेजिङ, कारोबार र लगानीका उद्देश्यले गरिन्छ। यसको उपयोग सुचीकृत कम्पनीको मौजुदा इक्विटीको स्थितिको हेजिङ गर्ने उद्देश्यले पनि गरिन्छ भने ‘मार्केट सेन्टिमेन्ट’ को मुख्य सूचकका रुपमा पनि इन्डेक्स फ्युचरलाई हेर्ने गरिन्छ।
पुँजी बजारमा यस्तो कारोबार प्रणालीलाई ‘जेरो-सम गेम’का रुपमा पनि लिइने गरिन्छ। जहाँ एक व्यक्तिको क्षति भनेको अर्को व्यक्तिको आम्दानी सरह हो भन्ने सिद्धान्तलाई आधार मानिन्छ। इन्डेक्स ट्रेडिङमा सिधै रकम भुक्तानी हुन्छ भने ‘इक्विटी बेस्ड फ्यूचरमा सेयर को लेनदेन अर्थात ‘फिजिकल डेलिभरी’ र ‘क्यास सेटलमेन्ट’ दुईवटै तरिकाबाट कारोबार गर्न सकिन्छ।
के हो इक्विटि बेस्ड डेरिभेटिभ?
इक्विटी डेरिभेटिभ एउटा वित्तीय औजार हो। यस्तो कारोबार प्रणालीमा इक्विटि बेस्ड डेरिभेटिभसँग मिल्दोजुल्दो हुनेगरी ‘इक्विटि बास्केट डेरिभेटिभ’को अवधारणा पनि विश्व पुँजीबजारमा प्रचलनमा छ। जसमा फ्युचर, अप्सन र स्वाप जस्ता उपकरण प्रयोग गरिन्छ जुन सेयरको नन–इन्डेक्स बास्केटका रुपमा अन्तर्निहित हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।