काठमाडौं- नेपाल राष्ट्र बैंकले ८ अर्ब ३० करोड रुपैयाँ बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागिएकाे हो।
२०७६ पुष १ गतेदेखि २०७७ मंसिर ३० गतेसम्मका लागि एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको हो। ८ अर्ब ३० करोड रुपैयाँमध्ये 'ग' वर्गका वित्तीय संस्थाले ४१ करोड ५० लाख रुपैयाँ, 'ख' वर्गका विकास बैंकका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँ र 'क' वर्गका वाणिज्य बैंकका लागि ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको रकम निक्षेप लगानी गर्न लागिएको हो।
राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ।
राष्ट्र बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने योजनाले तरलता अभावको समस्या हटाउन केहि समयका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।