नेपाली चित्रकलाबारे फिलिपिन्समा चर्चा, नेपाली कलाबारे विदेशमा अध्ययन हुने

नेपाल लाइभ | २०७४ पौष १५ शनिबार | Saturday, December 30, 2017 ०९:१०:०० मा प्रकाशित

मनिला, फिलिपिन्स- नेपालको चित्रकलाले छुट्टै महत्व बोकेको सरोकार भएकाहरुले बताएका छन्। 

ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा फिलिपिन्सको दगुपान पाङ्गासिनान, मंगलदान नेशनल हाइस्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी सो स्कुलका प्रधानाध्यापक लियो इ ब्लाकिरले नेपाली चित्रकलाले समुदायलाई आकर्षण गर्नसक्ने विश्वास व्यक्त गरे।

मंगलबारदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन शुक्रबार उनले आफ्ना विद्यार्थीलाई समेत नेपालको चित्रकला विषय अध्ययन गराउन पहल गरिने आश्वासन दिए।

प्रदर्शनीमा राखिएका चित्रले नेपालका हिमाली क्षेत्रलगायत मानिसको जनजीवनलाई उतारेको उनको भनाइ थियो। सो स्कुलमा अध्ययन गरिरहेका ७ हजार ५ सय विद्यार्थीमध्ये चित्रकलामा रुचि राख्ने विद्यार्थीलाई नेपाली चित्रकलासँग जोड्नका लागि आवश्यक पहल गरिने उनले बताए।

सञ्चारकर्मी लिवे मानानतान प्यारागिउरीले प्रदर्शनीमा राखिएका नेपालका चित्रले थप चित्रकार उत्पादन गर्नमा हौसला मिल्न सक्ने औँल्याए। सुशान भाल्देज यादाओले नेपालको राजधानी लगायत विभिन्न क्षेत्रमा अवस्थित मठमन्दिर तथा चैत्यगुम्बाले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राख्न सक्ने बताए। चित्रकार जेन मेरी ग्रेस किलोपले चित्रले नेपालमा परम्परागत रुपमा मानिँदै आएको संस्कृति र मौलिक पहिचानलाई जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उक्त प्रदर्शनीमा नेपालको संस्कृति, परम्परा, जातजाति, बौद्धधर्म, वेशभूषालगायत झल्कने खालका चित्र राखिएको योङ पिकासोका प्रबन्ध निर्देशक अजय देशारले बताए।

प्रदर्शनीमा देशार, नकर्मी, विपना महर्जन र सीतु मास्केद्वारा सिर्जना गरिएका चित्र राखिएको थियो।रासस