नवलपरासी- झन्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउन ब्लड मनी संकलन अभियान सुरु भएको छ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट समेत सहयोग रकम आउने क्रम जारी छ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान नै सञ्चालन गरी पछिल्लो पटक नेपालमा संकलित रु २ लाख ४ हजार १८७ बराबरको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गरे।
प्रमुख जिल्ला अधिकारी मरासिनीले छोटो समयमा भए पनि आर्थिक रकम संकलन कार्यमा सबैले सहयोग गरी अर्थिक संकलन गर्न सकिएको भन्दै यो अभियान सफलतातर्फ उन्मुख भएको बताए।
आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले अब थानेश्वर भुसाललाई नेपालमा ल्याउन धेरै दिन कुर्न नपर्ने भएको बताएका छन्।
शामी परियोजनाकी परामर्शदाता दाता रञ्जना लम्सालले देश तथा विदेशमा रहेका नेपालीको सहयोगले आफूहरुले भुसाललाई छुटाउनका लागि आवश्यक रकम पुर्याउन लागेको बताइन्।
२०६८ असोज ६ गते साउदी गएका भुसाल २०६९ जेठ २६ गते दुर्घटनामा परेका थिए। उनले चलाएको टिपरमा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।