काठमाडौं- खतरनाक सामुद्रिक आँधी ‘इर्मा’ले फ्लोरिडामा रहेका झन्डै एक हजार नेपाली प्रभावित गर्दा समेत सम्पर्कमा नआएको अमेरिकास्थित नेपाली राजदूतावास अन्तत: सम्पर्कमा आएको छ।
नेपाल लाइभले आइतबार ‘फ्लोरिडाको आँधीबाट बच्न नेपालीहरु सेल्टरमा, दूतावासले फोनै उठाएन’ शीर्षकको समाचार प्रकाशित गरेपछि राजदूत डा अर्जुन कार्की फ्लोरिडाका नेपालीसँग फोन सम्पर्कमा आएका हुन्।
इर्मा आँधी नेपाली समयअनुसार आइतबार साँझ ७ बजे फ्लोरिडा राज्यमा प्रवेश गरेको थियो। त्यसको ठीक एक घन्टापछि नेपाल लाइभले त्यहाँ रहेका नेपाली र नेप्लिज एसोसिएसन अफ फ्लोरिडाका अध्यक्ष राम थापासँग टेलिफोन गरेको थियो । कुराकानीमा अध्यक्ष थापाले दूतावासमा फोन गर्दा नउठेको र उताबाट पनि सम्पर्क नगरेको बताएका थिए।
उक्त समाचार प्रकाशित भएपछि राजदूत डा कार्कीले थापालाई फोन गरेर फ्लोरिडामा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका थिए।
‘दु:खको यो घडीमा तपाईंहरुले समाचार प्रकाशित गरेपछि राजदूत डा कार्कीले मलाई सम्पर्क गर्नुभएको थियो’, अध्यक्ष थापाले भने, ‘उहाँले नेपालीहरुलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्ने बताउनुभएको छ।’ अध्यक्ष थापाले फ्लोरिडाको नेपालीको समस्या उजागर गरेकोमा नेपाल लाइभलाई धन्यवाद समेत दिए।
समाचार प्रकाशित भएको केही घन्टापछि राजदूत कार्कीले फ्लोरिडामा रहेका नेपालीसँग सम्पर्क भइरहेको भन्दै ट्विट समेत गरेका थिए।
कैयौं क्यारेवियन टापुमा विनाश निम्त्याएको आँधी आइतबार बिहान फ्लोरिडाको पूर्वी तटीय क्षेत्रबाट पश्चिमतिर प्रवेश गरेको हो । उक्त आँधी फ्लोरिडाको पश्चिमी तटीय क्षेत्र हुँदै उत्तरी भेगको जर्जिया राज्यतिर बगिरहेको छ।
फ्लोरिडाको विभिन्न सहरमध्ये पूर्वी तटीय क्षेत्रमा मात्र करिब ५ सय र पश्चिमी तटीय क्षेत्रमा करिब ३ सय नेपाली बसोबास गर्छन् । फ्लोरिडामा मात्र करिब एक हजार नेपाली बसोबास गर्ने र आँधीका कारण सबै नेपाली प्रभावित बनेको नेप्लिज एसोसिएसन अफ फ्लोरिडाका अध्यक्ष थापाले नेपाल लाइभलाई जानकारी दिए।
उनका अनुसार, फ्लोरिडाको ट्याम्पा सहरमा रहेका नेपालीहरु ज्यान बचाउन विभिन्न सेल्टरमा बसिरहेका छन् । राज्य सरकारले आँधीबाट स्थानीयलाई बचाउन तटीय क्षेत्रभन्दा भित्र विभिन्न ठाउँमा अस्थायी शिविर स्थापना गरेको छ।
इर्मा आँधीका कारण हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको 'नेसनल हरिकेन सेन्टर’ ले यो आँधीलाई चौथो श्रेणी अर्थात् जोखिमयुक्त सूचीमा राखेको छ । सेन्टरका अनुसार आँधीको श्रेणी अधिकतम पाँचसम्म हुन्छ, जुन सबैभन्दा खतरनाक हुन्छ।
आँधीले पक्की भवनका छाना र पर्खालका साथै अधिकांश रुख र बिजुलीका पोल ढालेकाले जनजीवन सामान्य बन्न करिब एक महिना लाग्ने हरिकन सेन्टरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।