काठमाडौं– टाइगर ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै १० करोड कर छली गरेको पुष्टि भएको छ।
ठूला करदाता कार्यालयको केन्द्रीय कार्यालय ललितपुरले केही समय अगाडि उद्योगमा छापा मार्दैै अध्ययन गरेको थियो। अध्ययनका क्रममा टाइगर ब्रुअरीले उत्पादित बियर तथा कच्चा पदार्थको परिमाण कम देखाउँदै कर छली गर्दै आएको फेला परेको ठूला करदाता कार्यालय स्रोतले जानकारी दिएको छ।
टाइगर ब्रुअरीले अन्तःशूल्कतर्फ ८९ लाख, भ्याटतर्फ १ करोड ९५ लाख र आयकरतर्फ ७ करोड १५ लाख रुपैयाँ कर छली गरेको फेला परेको कार्यालयको भनाइ छ।
कार्यालयले टाइगर ब्रुअरीलाई छली भएको कर बराबरको रकम दाखिला गर्न पत्राचारसमेत गरिसकेको जनाएको छ। पत्र बुझे पनि ब्रुअरीले ठूला करदाता कार्यालयबाट कर छली भएको भनि प्रमाणित भएको रकम भने बुझाएको छैन। ब्रुअरी प्रशासकीय पुनरावलोकनमा गइसकेको समेत कार्यालयको भनाइ छ।
टाइगर ब्रुअरीको उद्योगमा छापा मार्दा विभागले कम्पनीले उल्लेख गरेको सञ्चित परिणामभन्दा कच्चा पदार्थ १ हजार ६ सय ९० केजी र कनिका पनि ३ हजार केजी कम रहेको फेला पारेको थियो। यसैगरी उद्योगले उत्पादनतर्फ कार्यालयमा पेस गरेको भन्दा ६ सय ५० एमएलको कोबो बियर १ हजार ३ सय ५२ थान बढी परिमाणमा फेला परेको थियो।
५ सय एमएलको बियर भने ३ हजार ५ सय थान कम परिमाणमा फेला परेको कार्यालयको भनाइ छ। ‘स्टकमा बढी बियर देखिनु भनेको अन्तःशूल्मा गढबढी गर्नु हो भने कम देखाउनु भनेको बील नै नकाटी बियर बिक्री गर्ने गरेको बुझिन्छ,' ठूला करदाता कार्यालय स्रोतले भन्यो, ‘यी सबै काम गर्नुको एउटै लक्ष्य हो कर छली गर्नु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।