काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताउँदै माफी मागेका छन्।
विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफू नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै उनले माफीसमेत मागे।
बिहीबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन र प्रशासनिक पुनर्संरचना विषयक राष्ट्रिय कार्यशालामा बोल्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिइएको उनको भनाइ थियो। 'यसभित्र केही खेल छ कि छैन म जान्दिनँ। कतिपय कुरा गोप्य राखिए,' उनले भने।
सोही कारण नेपाली जनतासामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको उनले बताए। ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ,' प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुपर्ने स्थिति आयो। पत्र आएको छैन भनेर बोलेँ तर पत्र आएको रहेछ। म क्षमाप्रार्थी छु त्यसका लागि।’
'धन्य छ, मिसन पत्रकारिता’
नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दाबी गर्दै उनले आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने बताए। आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चारमाध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे। कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै उनले मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए।
‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले थपे, ‘देशका सबै सडक कालोपत्रे गर्न सकिनछु। धन्य छ, मिसन पत्रकारिता।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।