राजविराज– पूर्वी पहाडी क्षेत्रमा लगातार भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाब वृद्धि हुँदै गएको छ। बिहीबार दिउँसो पानीको बहाब १ लाख १८ हजार १ सय ९० क्युसेक मापन भएको छ।
दुई दिन यता पानीको बहाबमा उतारचढाव आइरहेको ब्यारेजस्थित कोशी नियन्त्रण शाखाले जनाएको छ। बिहीबार बिहान पानीको बहाब १ लाख २१ हजार क्युसेक मापन गरिएको थियो। कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले हालसम्म कोशीको बाढीका कारण कुनै क्षति नभएको र अवस्था सामान्य रहेको जनाएको छ। तर, बाढी उतारचढाव भइरहेकाले सर्तक र सुरक्षित रहन आग्रह पनि गरेको छ।
यस्तो छ कोशी ब्यारेजको अवस्था
सन् १९५४ को भारत र नेपालबीचको कोशी सम्झौताका अनुसार १९६२ सालमा ब्यारेज निर्माण गरिएको हो। निर्माणताका १२ लाख क्युसेक पानीलाई नियन्त्रण गर्नसक्ने क्षमता भए पनि अहिले बालुवाले नदीको ‘बेस’ उकासेकाले क्षमतामा ह्रास आएको छ।
ब्यारेजको क्षमता ६ लाख क्युसेक प्रतिसेकेण्ड पानीको बहाब थेग्न सक्ने अनुमान छ। तर, विश्वकै उच्च बालुवा बोक्ने नदीमा पर्ने कोशीमा अहिले १ लाख ५० हजार क्युसेक पानीको बहाब पुुगे खतराको संकेत देखाइन्छ। पुलको दुवैतर्फ रातो झण्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ।
२०६५ भदौ २ गते कोशीको तटबन्ध भत्किँदा ब्यारेजमा पानीको बहाब १ लाख ६८ हजार क्युसेक मात्र थियो। ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किने अनुमान छ।
बाढीले पूर्वी तटबन्ध भत्काउँदा सुनसरी हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा ३० हजार बढी घर परिवार विस्थापित भएका थिए। तर, बाँध भत्केको दुई वर्षपछि पानीको बहाब ३ लाख ३६ हजार क्युसेकसम्म मापन गरिएको थियो।
सप्तरीमा च्यानलको त्रास, खतरामा गोवरगाढा
कोशी नदीको पश्चिमतर्फको तटबन्धमा भारतीय पक्षले बनाएको प्यालट च्यानलका कारण सप्तरीबासी चिन्तित छन्।
च्यानलका कारण बाढी पश्चिमतर्फ केन्द्रित हुने र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका कतिपय स्थान डुबानमा पर्ने खतरा छ।
गत जेठ १० गते साँझ च्यानलमा एक्कासि पानी छोड्दा नेपाल तर्फको हनुमाननगर कंकालिनी नगरपालिकाको गोेबरगाढाका १ सय २० परिवारलाई नेपालतर्फको भू–भागमा आवतजावत गर्न समस्या भएको थियो।
कोशीको भंगालो तरेर जानुपर्ने गोवरगाढामा दुई÷तिनसम्म सहज आवत–जावत समेत नभएको स्थानीय बताउँछन्।
यसैगरी ०७५ भदौ १२ गते राति च्यानलमा पानी छोड्दा सप्तकोशी नदीको पानी गाउँ पसेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ गरी ४ सय ९३ र तिलाठी–कोइलाडी गाउँपालिकाको ४ र ५ गरी ३५ घरपरिवार प्रभावित थिए।
भारतले कोशी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सामान्य अवस्थामै पानी गाउँ पस्न थालेको स्थानीय बताउँछन्। ३ लाख क्युसेक कोशीको बहाबमा पनि गाउँ नपसेको पानी गत वर्ष सामान्य अवस्थामै गाउँ पसेको भन्दै उनीहरूले चिन्ता ब्यक्त गरे।
सुरक्षित स्थानमा सार्न खोज्दा गोवरगाढाबासी मानेनन्ः सिडिओ
सप्तकोशीको बाढीका कारण गोबरगाढा हरेक वर्ष खतरामा पर्छ। वर्षा लाग्नासाथ टप्पुको रुपमा रहेको गोबरगाढा पुग्न नाउको प्रयोग गर्नुपर्छ। यही समस्यालाई मध्यनजर गरी स्थानीय प्रशासन र हनुमाननगर कंकालिनी नगरपालिकाले उनीरूरुलाई सुरक्षित स्थानमा सान गरेको प्रयास भने असफल भएको सिडिओ सुरेन्द्र पौडेलले बताए।
‘वर्षा लाग्नुअघि नै हामीले प्रयास गरेका हौं,’ उनले भने, ‘नगरपालिका र प्रशासन समेतले गरेको प्रयास असफल भयो, उनीहरूले ठाउँ छोडेर सर्न मानेनन्।’
नगरपालिका र प्रहरी/प्रशासनले गोबरगाढाबासीलाई सचेत हुन आग्रह गरेको र अप्ठ्यारो अवस्था आए उद्धारका लागि पर्याप्त तयारी गरिएको सिडिओ पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।