काठमाडौं- ‘वर्षौंसम्म कोरियाली भाषा रटेँ, परीक्षा दिएँ, पास पनि भएँ। तर, कोरियाली भाषा परीक्षा पास गरेको दुई वर्ष बित्नै लाग्दा पनि कोरिया जान पाइएन,’ सुर्खेतका जनक भण्डारीले नेपाल लाइभकर्मीसँग गुनासो गरे।
सन् २०१७ मा कोरियामा कृषि कामका लागि जान भाषा परीक्षा दिएका थिए उनले। तर, दुई वर्ष बित्नै लाग्दा पनि उनी रोजगारीका लागि कोरिया जान पाएका छैनन्।
कोरियाली भाषा परीक्षा पास भएमा दुई वर्षसम्म मान्य हुन्छ। परीक्षा पास गरेर पनि सो अवधिमा कोरिया रोजगारीमा जाने अनुमति नआएका युवा कोरिया जान पाउँदैनन्। उनीहरूले पुनः भाषा परीक्षामा सामेल भई पास गर्नु पर्ने हुन्छ।
‘भाषा परीक्षा पास गरेको मिति पनि सकिनै लाग्यो, सरकारले एक वर्ष म्याद थप्न पहल गर्ला कि?’ सरकारले अझै म्याद थपिदिएला कि भन्ने अपेक्षा व्यक्त गर्छन् जनक।
तर भाषा परीक्षा पास भएको मान्यता अवधि २ वर्षको मात्रै रहेको बताउँछन् इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी।
यसरी कोरियाली भाषा परीक्षा पास गरेर पनि रोजगारीमा कोरिया जान पाउने ग्यारेन्टी सरकारले गर्न नसक्दा युवामा चिन्ता उत्पन्न भएको छ।
सरकारले भाषा परीक्षा पास गरेका युवालाई कोरिया रोजगारीमा पठाउने ग्यारेन्टी गर्न नसक्दा काम गरेर खाने आफूहरुको समयमात्रै बर्बाद भएको गुनासो गर्ने गरेका छन्।
इपिएस शाखाका अनुसार कोरियाली भाषा परीक्षा पास गरेर पनि हरेक वर्ष १० प्रतिशतभन्दा बढी युवा रोजगारीका लागि कोरिया जान पाउँदैनन्।
‘मेहनत गरेर भाषा परीक्षा दियो, पास भएपछि कोरियाबाट भिसा आउँछ र जान पाइन्छ भन्दै आशैआशैमा बस्यो। एकातिर समय र पैसा बर्बाद अर्कातिर मानसिक तनाब। कोरियाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएका कालिकोटका विनोद उपाध्यायले सुनाए।
उनले सन् २०१७ मा नै कृषि कामका लागि कोरिया जान भाषा परीक्षा पास गरेका उनले भने, ‘यसपाली पनि निमार्ण सम्बन्धी कामका लागि भाषा परीक्षा दिएँ, पास पनि भएको छु, जान पाउने नपाउने टुंगो छैन। कोरियाली रोजगारीले घर न घाट बनायो।’
कोरियाली रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सूचना बोर्डमा टाँसिएको छ, ‘कोरियन भाषा परीक्षा पास गर्नु कोरियामा रोजगार आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने सुनिश्चितता भने होइन।’
भाषा परीक्षा उत्तीर्ण ८ हजार जान पाएनन् कोरिया
इपिएस शाखाका अनुसार सन् २००८ देखि सन् २०१९ जनु १५ सम्म ७० हजार ४ सय ६९ जनाले भाषा परीक्षा उत्तीर्ण गरिसकेका छन्। जसमध्ये ६२ हजार २ सय २७ जना रोजगारीका लागि कोरिया पुगिसकेका छन्। भाषा परीक्षा पास गरेर पनि ८ हजार २ सय ४२ युवाहरु कोरिया जान पाएका छैनन्।
यसपाली पास भएका आधा मात्रै कोरिया जान पाउने
यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी भाषा परीक्षामा उतीर्ण भएका छन्। यसै वर्षदेखि कोरियाले काठमाडौंमै भाषा परीक्षा पास गरेका युवाहरुलाई सिप परीक्षणबाट छनोट गर्ने भएको छ। भाषा पास गरेका युवामध्येबाट ६ हजार ७ सय युवालाई मात्रै कोरिया जानका लागि छनोट गर्ने बताइएको छ।
सिप परीक्षणबाट छनोट भएका सबै युवालाई कोरिया रोजगारीको ग्यारेन्टी सुनिश्चितता गर्न नसकिने इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारी बताउँछन्।
यसरी भाषा परीक्षा वा सिप परीक्षण मार्फत् छनोट भएका तर कोरिया रोजगारीमा जान पाउने सुनिश्चितता नभएका यस वर्ष ५ हजारभन्दा बढी युवा थपिने छन्।
यो वर्ष र अघिल्ला विभिन्न वर्ष कोरियाली भाषा परीक्षा पास भएर पनि कोरिया रोजगारीको सुनिश्चितता नभएका युवाको संख्या १३ हजारभन्दा बढी देखिएको छ।
किन कोरिया जान पाउँदैनन् युवा?
‘कोरियाले आवश्यकता अनुसार कामदार माग गर्ने भएकाले कोरियाली भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीमा पठाउने सुनिश्तिता गर्न सरकारले सक्दैन,’ शाखाका प्रवक्ता भण्डारीले भने।
‘कोरियाको आर्थिक अवस्था मजबुत भए कोरियाले सोही अनुसार कामदार माग गर्छ। कोरियाको आर्थिक अवस्था खस्कँदै गयो भने उनीहरुले थोरै संख्यामा विदेशी कामदार माग गर्छन्,’ उनले भने। कोरियाली रोजगारीमा कोरियाको आर्थिक अवस्था अनुसार कामदारको माग थपघट हुने भण्डारीको भनाई छ।
रोजगारदाताको रोजाइपछि मात्रै कोरिया
भाषा परीक्षा पास गरिसकेपछि पनि कोरिया रोजगारीका लागि जान रोजगारदाताको रोजाइमा पर्नुपर्ने हुन्छ। कोरियाले कामदारको उमेर, लिङ्ग र राष्ट्रियताका आधारमा विदेशी कामदार छनोट गर्ने प्रवक्ता शोभाकरण भण्डारीले बताए। उनले भने, ‘रोजगारदाताले कुन देशको कामदार, कति उमेरभित्रको महिला वा पुरुष भनेर एउटा रोष्टर तयार पार्छ, रोजगारदाताको रोष्टर अनुसारका कामदार कोरिया सरकारले आपूर्ति गर्ने हुँदा भाषा पास गर्ने सबै कोरिया जान पाउँदैनन्,’ भण्डारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।