विराटनगर- सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ। लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए।
नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा चौबीसै घन्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेका सहायक प्रहरी निरीक्षक दाहालले बताए। ९ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले २ लाख ९० हजार क्युसेक पानी बगिरहेको बताइएको छ। शनिबार ३ लाख १८ हजार ६ सय ५० क्युसेक पानी बगिरहेको थियो।
यो वर्ष सप्तकोशीमा २४ हजार क्युसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ। एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो। बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन्। पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ।
बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह
यसैबीच प्रदेश १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पुर्याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।
बाढी, पहिरोले प्रदेश १ उच्च जोखिममा परेको भन्दै उनले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेका छन्। पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन पनि सुझाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।