काठमाडौं- सरकारले राष्ट्रिय खेलकुद परिषदका सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने व्यवस्था गर्न लागेको छ।
संघीय संसदको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले ६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषदको सर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताएका हुन्।
विधेयकमा उल्लेख गरिएको सो प्रावधान राष्ट्रिय/अन्तराष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसार नै राखिएको दाबी उनको छ। 'विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आवद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ,' मन्त्री विश्वकर्माले भने, ' परिषदका सर्त नमान्ने खेलकुद संघ, संस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ।'
बैठकमा समितिका सदस्यहरुले भने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरुको आवद्धता राष्ट्रिय खेलकुद परिषद बाहेकमा पनि हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले अन्तराष्ट्रिय खेलहरुसँग आवद्ध संघलाई राष्ट्रिय खेलकुद परिषद बाहेकका संस्थाहरुसँग पनि संस्थागत रुपमा आवद्ध हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।
समितिका सदस्यहरुले खेलकुद पदाधिकारीहरुको चयन गर्दा खेलकुद क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।