मुद्दा नम्बर ४२० : यसरी उल्टियो जिल्ला अदालतको फैसला, भतिजी मार्ने काकीलाई ८ वर्ष कैद 

नारायण अधिकारी | २०७६ असार ३१ मंगलबार | Tuesday, July 16, 2019 १७:४०:०० मा प्रकाशित

काठमाडौं– टोखा नगरपालिका-५ मा भक्तलाल डंगोलको तीनतले कच्ची घर छ। घरको दोस्रो तलामा हलजस्तो बरन्डा छ। 

उक्त हलको पूर्व-उत्तरतर्फ बिस्तरा सहितको खाट छ भने बरन्डालाई पूर्व-पश्चिम गरी बीच भागमा त्रिपाल लगाएर २ भागमा बाँडिएको छ।

उत्तरतर्फको भागमा सरसमानहरु स्टोर गरी राखिएका छन्। दक्षिणतर्फको पश्चिम भित्तामा सटाएर टेबलमाथि टिभी। त्यसको पूर्वतर्फ ४ वटा सुकुल। पूर्वतर्फको सुकुलमाथि खैरो मण्डी ओछ्याइएको। तकिया र सेतो बुट्टे ब्ल्यांकेट रहेको गुलाबी रङको पछ्यौरा ओछ्यानमा हुन्छ।  

ओछ्यान नजिकै कटकटिएको वान्ता फेला पर्छ। त्यहीँ नजिकै बेहास अवस्थामा फेला पर्छिन् ७ वर्षीया सिम्रन डंगोल। यो दृश्य साढे २ वर्षअघि २०७३ मंसिर १७ गते साँझ साढे ५ बजेको हो। 

कक्षा २ मा पढ्ने सिम्रनका बाबु रामचन्द्र डंगोलको मृत्यु भइसकेको थियो। बाबुको मृत्युपछि सिम्रनका आमा पनि अर्कैसँग विवाह गरेर गइन्।

बाबुको मृत्यु र आमा पनि अर्कैसँग गएपछि सिम्रन एक्लिइन्। उनलाई हजुरबुवा भक्तलाल डंगोलले अभिभावकत्व दिने भए। भक्तलालसँग उनकी श्रीमती, कान्छो छोरा-बुहारी (चन्द्रिका), उनीहरुका छोराछोरी र सिम्रन र उनका दाइ राहुल गरी ८ जना बस्थे। 

स्रिमनको स्कुलमा पिकनिक कार्यक्रम भएकाले उनी त्यसदिन स्कुल गएकी थिइनन्। तर उनका सहोदर दाइ राहुल भने स्कुल भएका थिए। ‘स्कुलबाट फर्किएर घर पुग्दा रुवाबासी थियो। माइली काकी विष्णुमाया लगायत अन्य रोइरहेका थिए। 'हजुरआमालाई के भयो भनेर मैले सोध्दा, सिम्रनलाई अस्पताल लगेको छ, जाऔं भनेपछि म सोझै ग्रान्डी अस्पताल पुगेँ,’ सिम्रनका दाइ राहुलले बयानमा भनेका छन्। 

बहिनीलाई जीवितै भेट्ने आशासहित हतारिँदै अस्पताल पुगेका राहुलको कानले सुन्नु नपरोस् भनेको वाक्य नै सुन्नुपर्‍यो। डाक्टरले सिम्रनलाई मृत घोषणा गरिदिए।

‘घाँटीमा खोस्रिएको सानो रातो दाग देखिएको, घाँटीमै ९ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको निलो रातो डाम, घाँटीमा भएको डामदेखि १ इन्चमाथि बंगाराको भागमा कालो रङको टीका टाँसिएको, नाक र मुखबाट छाद जस्तो वस्तु निस्किएको,’ प्रहरीले लास जाँच मुचुल्कामा उल्लेख गरेको छ।

‘मेरो छोरो विकेशले ममीममी दिदी त बोलाउँदा बोल्दैन। झुन्डेर बसेको छ। मरे जस्तो छ भनेपछि म दौडिएर गएँ। लुगा झुड्याउने डोरीमा कलेजी रङको पछ्यौरी घाँटीमा बाँधी सिम्रन झुन्डिएकी थिइन्,’ चन्द्रिकाले बयानमा भनेकी छन्।

सिम्रनलाई भएको के थियो? दाइ राहुललाई जान्नु थियो। त्यसपछि उनले घरमा सोधीखोजी गरे। त्यसदिन घरमा कान्छी काकी चन्द्रीका डंगोल, उनका छोरा विकेश, बहिनी सिम्रन र माइली काकी विष्णु थिए। 

‘दोस्रो तलामा टिभी हेरेर सिम्रन बसिरहेकी थिइन्। त्यसबेला मनमा के विचार आयो कुन्नि लुगा झुड्याउने डोरीमा पछ्यौराको पासो लगाएर झुन्डिछ। भाइ विकेशले देखेपछि कान्छी काकी चन्द्रिकालाई भनेछन्। चन्द्रिका गएर उद्धार गरी अस्पताल पठाउँदा उपचारकै क्रममा मृत्यु भएको हो,’ राहुललाई परिवारका सदस्यले यही सुनाए। 

कान्छी काकी चन्द्रिकाको भनाइ पनि यही थियो। 

‘भान्छामा तरकारी पखाल्दै थिएँ। मेरो छोरो विकेशले ममीममी दिदी त बोलाउँदा बोल्दैन। झुन्डेर बसेको छ। मरे जस्तो छ भनेपछि म दौडिएर गएँ। लुगा झुड्याउने डोरीमा कलेजी रङको पछ्यौरी घाँटीमा बाँधी सिम्रन झुन्डिएकी थिइन्। खुट्टाले भुइँ छोएको थिएन। तत्काल उद्धार गरी उपचारका लागि टोखा इमर्जेन्सी पुर्‍यायौं। त्यहाँ उपचार हुन नसकेपछि ग्रान्डी लाँदा उपचारकै क्रममा मृत्यु भयो,’ चन्द्रिकाले बयानमा भनेकी छन्।

मामालाई जब शंका लाग्यो
७ वर्षीया सिम्रनले झुन्डिएर आत्महत्या गरिन् भन्दै घटना सामसुम हुँदै थियो। सिम्रनका हजुरबुवा भक्तलालले पनि नातिनीको मृत्यु स्वाभाविक नभएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। तर किटानी जाहेरी भने थिएन।

जब सिम्रनका मामा टीकानारायण श्रेष्ठले किटानी जाहेरी दिए, त्यसपछि घटनाले नयाँ मोड लियो। 

‘भान्जी सिम्रनको घाँटीमा चोट छ। त्यसदिन घरमा सिम्रनका कान्छी काकी चन्द्रिका मात्रै थिइन्। घाँटीमा चोट भएका कारण उनको मृत्यु स्वाभाविक होइन। यसमा चन्द्रिकाको हात हुनपर्छ’ भन्दै प्रहरीमा श्रेष्ठले किटानी जाहेरी दिए।

घटना भएको ४ दिनपछि मंसिर २१ गते मामा श्रेष्ठकै जाहेरीको आधारमा प्रहरीले चन्द्रिकालाई पक्राउ गर्छ।

सिम्रन बेहास भएको बेला चन्द्रिका चिच्याएपछि उनकी जेठानी दिदी विष्णु पनि घटनास्थल पुगेकी थिइन्। विष्णुले भने चन्द्रिकाले कर्तव्य गरे जस्तो आफूलाई नलागेको बयान दिइन्।

पोस्टमार्टम र पोलिग्राफले दिएको हत्याको क्लुलाई अदालतले उल्ट्यायो
सिम्रनको मृत्यु स्वाभाविक थिएन। जसकारण उनको पोस्टमार्टम गर्नु अनिवार्य थियो। उनको शव परीक्षण विशेषज्ञ डाक्टर रिजन श्रेष्ठले गरेका थिए। डाक्टर श्रेष्ठसँग यसबारे बकपत्र गर्न भन्दै जिल्ला अदालतले २०७३ फागुन २३ गते आदेश दियो। 

घाँटीमा थिचेको कारण मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख थियो। मृतक आफैं झुन्डिएको हो भने अटप्सी रिपोर्टमा ह्यांगिङ भनी लेख्नुपर्नेमा त्यस्तो लेखिएको थिएन। 

डाक्टर श्रेष्ठले दिएको बयान अनुसार सिम्रनको घाँटीमा पासोको डाम, घाँटीको अगाडि भागमा २ र पछाडिको भागमा १ वटा थिचोरिएको घाउ थियो। दुवै आँखाको जालीको भागमा रगत जमेको। घाँटीको पासो अगाडिबाट पछाडि जाँदा माथि हुँदै गएको देखिएको डाक्टर श्रेष्ठले दिएको बकपत्रमा उल्लेख छ।

सिम्रनको मृत्यु स्ट्राङ्गुलेसन (घाँटी दबाएर) का कारण भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएको थियो। यसबाट उनको मृत्यु आत्महत्या नभई हत्या भएको हो भन्न सक्ने धेरै क्लुहरु फेला परेका थिए। 

सिम्रनका मामा टीकानारायण श्रेष्ठले किटानी जाहेरी दिएपछि चन्द्रिका पक्राउ परिसकेकी थिइन्। प्रहरीले उनको पोलिग्राफसमेत परीक्षण गरेको थियो। पोलिग्राफमा अभियुक्तले झुट बोलेको छ कि छैन्न भन्ने परीक्षण गरिन्छ। 

पोलिग्राफ परीक्षणले भने चन्द्रिकाले 'हत्या गरेको होइन' भनेर दिएको बयानलाई डिसेप्सन इन्डिकेटेड (झुट बोलेको हो) देखाएको थियो।

पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण र अनुसन्धानबाट चन्द्रिकाले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नम्बरविपरीत १३ (३) नम्बर बमोजिमको कसुर अपराध गरेको हुँदा सोही बमोजिम कारबाही हुनुपर्ने भन्दै अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेका थिए।

तर जिल्ला अदालत काठमाडौंले पोलिग्राफ, पोस्टमार्टम रिपोर्ट, प्रहरी अनुसन्धानलाई उल्ट्याउँदै २०७४ बैसाख २० गते फैसला गर्छ।

‘कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी मुद्दामा प्रतिवादी उपरको अभियोग शंकारहित तवरले पुष्टि गर्नुपर्छ। अनुमान र शंकाको भरमा कसैलाई मानव हत्यारा जस्तो अपराधी ठहर गर्नु कानुनसंगत न्याय हुँदैन। प्रतिवादी (चन्द्रिका) ले नै सिम्रनलाई मारेको हो भन्ने कुरा शंकारहित तवरले पुष्टि हुन सकेको पाइएन। तसर्थ प्रतिवादी (चन्द्रिका) उपरको अभियोग दाबी पुग्न सक्ने नदेखिँदा उनले (चन्द्रिका) ले आरोपबाट सफाइ पाउने ठहर्छ,’ जिल्ला अदालतको फैसलामा उल्लेख थियो।

विशेषज्ञको रायबाट झुन्डिएर हत्या भएको होइन भन्ने पुष्टि भएपछि उच्च अदालत पाटनले २०७५ असार १ गते अदालती बन्दोबस्त २०२ नम्बर बमोजिम प्रतिवादी (चन्द्रिका) झिकाउन आदेश दिन्छ। र, उनी पुन: पक्राउ पर्छिन्।

मृतक सिम्रनलाई प्रतिवादी चन्द्रिकाले नै तीन वर्षदेखि पाल्दै आएकाले पनि उनैले हत्या गरेको हुन नस्कने विश्लेषण अदालतको थियो। सोही आधारमा जिल्ला अदालतले फैसला गरेपछि उनी रिहा भइन्।

अटप्सी रिपोर्टमा किन ह्यंगिङ लेखिएन?
मृतकको घाँटीमा डोरीको डाम नभई खोस्रिएको सानो रातो दाग र घाँटीमा ४ इन्च लम्बाइ १ इन्च चौडाइको डाम तथा नाक र मुखबाट छाद आएको लास जाँच मुचुल्कामै उल्लेख थियो। घाँटीमा थिचेको (स्ट्राङ्गुलेसन) कारण मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख थियो। मृतक आफैं झुन्डिएको हो भने अटप्सी रिपोर्टमा ह्यांगिङ भनी लेख्नुपर्नेमा त्यस्तो लेखिएको थिएन। 

शव परीक्षण गर्ने डाक्टर रिजन श्रेष्ठले दिएको बकपत्रमा सिम्रनको घाँटीका भित्री वस्तुहरुमा निलडाम भएको आधारमा झुन्डिएर नभई अरु कुनै कारण निसासिएर मृत्यु भएको उल्लेख थियो। घाँटीको पासो अगाडिबाट पछाडि जाँदा माथि दुवै गएको अवस्थाबाट मृतकको मृत्यु आफैंले गरेको हुन सक्दैन भनी उनले बकपत्र गरेका थिए।

प्रतिवादी (चन्द्रिका) ले घटना अरुले नै गराएको हो भनेर समेत भन्न नसकेको अवस्थाबाट हत्यारा उनै हुनुपर्छ भन्दै पुन: उच्च अदालत पाटनमा मुद्दा पर्छ। 

परिस्थितिजन्य प्रमाणका आधारमा ८ वर्ष कैद
उच्च अदालत पाटनमा पुनरावेदन गर्दै ४२० नम्बरमा मुद्दा परिसकेको थियो। विशेषज्ञको रायबाट झुन्डिएर हत्या भएको होइन भन्ने पुष्टि भएपछि उच्च अदालत पाटनले २०७५ असार १ गते अदालती बन्दोबस्त २०२ नम्बर बमोजिम प्रतिवादी (चन्द्रिका) झिकाउन आदेश दिन्छ। र, उनी पुन: पक्राउ पर्छिन्।

सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ वादीका तर्फबाट बहस गर्छन्। चन्द्रिकाको तर्फबाट अधिवक्ता प्रकाश थापा र बच्चुसिंह खड्काले जिल्ला अदालतकै फैसला सदर हुनुपर्ने भन्दै बहसमा तर्क पेस गर्छन्।

‘अप्रत्यक्ष प्रमाणको आधारमा पनि अदालतले विवादको सही निरोपण गर्नुपर्ने हुन्छ। अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनुपर्ने बाध्यता रहने’ भनी सर्वोच्च अदालतबाट निस्कने नेपाल कानुन पत्रिकाको २०७५, अंक ७ नि. न. १००५७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ।

प्रतिवादी गृहिणी महिला भएको र आफैं तीन वर्षदेखि सिम्रनलाई पाल्दै आएको लगायतका कारण चन्द्रिकालाई जन्मकैदको फैसला गर्दा चर्को सजाय हुने भन्दै उच्च अदालत पाटनले गत चैत २६ गते ८ वर्ष कैदको फैसला गर्छ। 

उक्त सिद्धान्तकै आधारमा सिम्रन फेला परेको कोठामा झुन्डिन मिल्ने दलिन तथा काँटीकिलो पनि फेला पर्दैन। ३ वर्षको बालकले घटनाका बारेमा यसरी आमालाई बेलिबिस्तार समेत लगाउन सक्दैन। ७ वर्षीया बालिका सिम्रनले आत्महत्या गर्नुपर्ने कारण पनि कतैबाट खुल्दैन। उनी आफैं झुन्डिएको हो भन्न सक्ने प्रमाण प्रतिवादीले पेश गर्न नसकेको, घटनास्थल मुचुल्का, पोलिग्राफ, परीक्षण, पोस्टमार्टम रिपोर्ट, डाक्टरको बकपत्र लगायतबाट भतिजी सिम्रनको हत्या काकी चन्द्रिकाबाट भएको निष्कर्ष उच्च अदालत पाटनले निकाल्छ। 

चन्द्रिकाको पारिवारिक अवस्था, घटनास्थलको प्रकृति, वारदाता पश्चात् तत्काल खबर गरी मृतकलाई अस्पताल लैजान देखाएको अग्रसरता, ज्यान मार्नुपर्नेसम्मको पूर्व रिसिइबीको अभाव आदिवारे अदालतले चासो राख्छ। प्रतिवादी गृहिणी महिला भएको र आफैं तीन वर्षदेखि सिम्रनलाई पाल्दै आएको लगायतका कारण चन्द्रिकालाई जन्मकैदको फैसला गर्दा चर्को सजाय हुने भन्दै उच्च अदालत पाटनले गत चैत २६ गते ८ वर्ष कैदको फैसला गर्छ। 

परिवारकै सदस्यबाट हत्या हुने क्रम बढ्दो
आफ्नी अभिभावक (काकी) बाट हत्या हुने सिम्रन एक्ली बालिका होइनन्। पछिल्लो समय आफ्नै परिवारका सदस्यबाट हत्या हुने क्रम बढ्दै गएको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ सम्म ३ हजार १ सय ३१ जनाको हत्या भइसकेको छ। जसमध्ये ६ सय ८४ जनाको हत्या परिवारकै सदस्य तथा नातेदारबाट भएको छ। हत्या भएका मध्ये प्रतिशतका आधारमा आफन्तबाट ३१ प्रतिशतको हत्या भएको पाइन्छ।

आर्थिक वर्ष २०७२/७३ देखि २०७५ माघसम्मको तथ्यांक अनुसार २७५ जनाले श्रीमतीको हत्या गरेका छन्। १५ जनाले आफ्नै छोराछोरी हत्या गरेका छन्। ५९ जनाले श्रीमान्‌को हत्या गर्दा ५३ जना व्यक्तिको हत्या आफ्नै छोराबाट भएको तथ्यांक नेपाल प्रहरीसँग छ। ६२ नवजात शिशुको हत्या आमाले गरेका छन्।

यसरी आफन्त तथा परिवारकै सदस्यबाट असुरक्षित हुनुपर्ने अवस्था आएको देखिन्छ। यसबारे हामीले अपराधशास्त्री रञ्जिभक्त प्रधानाङ्गसँग कुरा गरेका थियौं। उनले चिनेजाने र आफन्तसँगै रिसिइबी हुने र त्यसको चरम रुपमा हत्याजस्तो अपराध हुने गरेको बताए।

यसको रोकमाथको लागि सामाजिक अनुशासन आवश्यक रहेको उनको भनाइ छ। पछिल्लो समय छोराले बाबुआमालाई आदार गर्ने चलन हराउनु, आफूभन्दा ठूलोलाई सम्मान गर्ने प्रचलन लोप हुँदै जानु र आफूभन्दा सानोलाई माया गर्ने चलन हराउँदै गएपछि यस्ता अपराध हुने गरेको उनको भनाइ छ। जसकारण सामाजिक अनुशासनमा मान्छे बाँधि पर्ने र परिवारले सोही रुपको व्यवहार गर्नुपर्ने उनी बताउँछन्। (सांकेतिक तस्बिर)