काठमाडौं– निधारभरि चिट्चिट् पसिना।
पसिनालाई बेवास्ता गर्दै कामसँगै रमाइरहेका हुन्छन् उनी। बिहान ८ बजे कालोपुलस्थित जेपी प्रतिष्ठानमा आउँछन्। र सधैं यसरी नै काममा लागिरहन्छन्।
यो सर्लाहीका अमृत लामाको दैनिकी हो।
उमेर-३३ वर्ष। पेसा-काष्ठकला। सपाट काठमा छिनो राखी कुन्जोले टुक्टुक्याइरहेका थिए उनी।
'कतिबेला बिसाउनुहुन्छ?'
‘काम नै यस्तो छ, बिसाए पनि नबिसाए पनि आज यति त सक्नैपर्छ,’ टुकटुक आवाजसँगै ध्वनिमिश्रित स्वरमा उनी भन्छन्।
हरेक दिन छिप्पिँदै गएको साँझले अमृतलाई झक्झक्याउने गर्छ। तर, साँझसँग उनलाई परबाह छैन। उनको पूरै लगाव काममा छ।
‘खटेअनुसारको कमाइ हुन्छ। गर्दै जाँदा कहिले त राति ९ सम्म बज्छ,’ काठमा बुट्टा भर्न तल्लीन अमृतले मुस्कुराउँदै भने।
जब परदेशले पीडा दियो
काममा तल्लीन भइरहेका अमृतलाई मैले विगतबारे सोधेँ। उनी विगतमा फर्किए। परदेशिएका क्षण सम्झिए। अनि झस्कँदै भने, ‘अब नेपालको सीमा कटेर जान्नँ।’
अमृतले जीवनको ६ बसन्त परदेशमै बिताएका छन्। तर, ‘रातदिन खटिँदा पनि कमाइ भएन,’ अमृत सुनाउँछन्। उनी वर्तमानलाई विगतको परदेशसँग तुलना गर्दै भन्छन्, ‘अर्काको देशमा बगाउने पसिना आफ्नै देशमा किन नबगाउनु। बरु अहिले नेपालमै पसिनासँग भिज्ने बानी परेको छ।’
माध्यामिक तहको अध्ययन सकेपछि काममा खोजीमा नेपालमै भौतारिए अमृत। त्यसबेला नेपालमा न उनले काम चिने, न कामले नै उनलाई पछ्यायो।
त्यसपछि लाग्न थाल्यो- म परदेश जान्छु।
सोच्थेँ- परदेशमा त केके न होला। पैसा त प्रशस्तै कमाइएला।
रोजगारीका लागि २०६७ सालमा कुवेत पुगे। तर, उनले सपनाको स्वर्गजस्तो परदेश विपनामा कहिल्यै भेट्टाउन सकेनन्। त्यहाँ त पैसा हैन–दुःख, वेदना र पीडाका महासागर उर्लने रहेछन्।
‘६ वर्ष विदेश बसेँ। तर, कहिल्यै पीडारहित दिन बिताइएन,’ उनले स्मृतिको पर्दा उतारे। हेभी गाडीको ग्यारेजमा काम। दिनको १२ घण्टा लगातार खट्नुपर्ने। मुस्किलले मासिक ३० हजार हुन्थ्यो। कमाइ जति खान, बस्न र ऋण तिर्न मात्रै ठिक्क।
यता काठमाडौंमा श्रीमती र छोराका बस्दथे। उनीहरूको लागि खर्च पुर्याउन पनि मुस्किल हुन्थ्यो। ग्यारेजमा काम गर्दा उनले गाडी चलाउन सिके। तर, कुवेतमा उनले गाडी चलाउने आँट गरेनन्।
काष्ठकलाले बदलिदियो जीवनको रङ
२०७३ सालतिर। उनी छुट्टीमा नेपाल आएका थिए।
त्यतिबेला एक जना भाइले अमृतलाई सुझाए, ‘परदेश जानुभन्दा आफ्नै देशमा काम गर्नु, मैलेजस्तै काष्ठकलाको सिप सिक्नु।’ र भाइले प्रस्ताव गरे, ‘सँगै काम गरौँ। निकै राम्रो कमाइ हुन्छ।’
भाइको कुरा उनलाई घत लाग्यो। ‘राम्रो कमाइ हुने भए किन विदेश फर्कनु,’ उनले सोच्न थाले। तर, विदेशको लत परेको अमृतलाई निर्णय गर्न समय लाग्यो। ती भाइ काठमाडौंमा काष्ठकलाको काम गर्थे। धेरै सोचविचारपछि उनले निर्णय गरे, ‘एकपटक यतै काम गरेर हेर्छु, राम्रो कमाइ भयो भने यहीँ गर्छु्।’
त्यसपछि अमृत भाइसँगै काष्ठकलाको काममा जान थाले। डेढ महिना भाइले काम गरेको हेरे। त्यसपछि आफैं गर्न थाले। कला जानेपछि अमृत कालोपुलस्थित जेपी प्रतिष्ठानमा आवद्ध भएर काम गर्न थाले।
२ वर्ष भयो, उनी काष्ठकलामा रमाइरहेका छन्। भन्छन्, ‘यो काम जति जान्यो, त्यति जाँगर चल्छ। जति हात बस्यो, त्यति नै छिटो काम गर्न सकिन्छ।’
अमृतले अहिले परिवारसँगै बसेर मासिक ५० हजारभन्दा बढी आम्दानी गर्छन्। ‘एक घण्टा काम गरेको १ सय २५ रुपैयाँ छ, विदेशमा जसरी खट्न सक्यो भने ५० हजार सजिलै कमाइ हुन्छ,’ अमृत खुसी साट्छन्। उनी काममा दैनिक १२ देखि १५ घण्टासम्म निरन्तर खट्छन्।
‘परदेशमा गएर काम गरेको सम्झन्छु अनि नेपालमा पनि त्यसरी नै काम गरे कसो नहोला भनेर खट्छु,’ अमृत भन्छन्। अमृतलाई अहिले आफ्नै देश प्यारो लाग्न थालेको छ। परदेशको भोगाइले पसिनाको मूल्य बुझाएको छ।
सिप सिकेर काम गर्दा जीवनलाई सन्तुलन बनाउन सकिने उनको ठहर छ। उसो त सिप हुँदा र नहुँको भिन्नता अमृतले भोगिसकेका छन्।
काष्ठकलाको सिपले अमृतको आत्मविश्वास बढेको छ।
‘अबको योजना?’
‘विस्तारै आफ्नै व्यवसाय गर्ने सोचमा छु,’ उनीले मुस्कुराउँदै सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।